व्यवसायिक कानुन व्यवसायी समूहको चुनावी प्रतिवद्धताः स्वतन्त्र, सक्षम र भ्रष्टाचारमुक्त न्यायपालिका


काठमाडौं, ६ चैत । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेतृत्वको व्यवसायिक कानुन व्यवसायी समूहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आगामी चैत २३ मा नेपाल बार एशोसिएशनको पदाधिकारी चयनका हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता श्रेष्ठ अध्यक्षको उम्मेदवार रहेका छन् । व्यवसायिक कानुन व्यवसायी समूहले यज्ञमणि न्यौपानेलाई महासचिवको उम्मेदवार बनाएको छ ।

व्यवसायिक कानुन व्यवसायी समूहले आफ्नो प्रतिवद्धतामा कानुन व्यवसायीहरूको व्यावसायिक हक हित, ईज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षालाई विशेष प्राथामिकताका साथ राखेको छ । स्वतन्त्र, सक्षम, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका, विचार र अभिव्यक्ति स्वतन्त्रता पनि प्रमुख एजेण्डाको रुपमा रहेको छ ।

त्यसैगरी, संविधान संशोधन र न्यायपालिकाको पुनर्सरचना, सविधानले परिलक्षित गरेका समाजवाद उन्मुख लोकतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, लयर्स एकेडेमीमार्फत कानुन व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि, युवा कानुन व्यवसायीहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रमलाई विशेष जोड दिइएको छ ।

कानुन व्यवसायी महिलाको सम्बन्धमा विशेष कार्यक्रम, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेशी, थारु, आदिवासी जनजाती, अल्पसंख्यक कानुन व्यवसायीको समावेशी, समानुपातिक सिद्धान्त अनुरुप सबै क्षेत्रमा सहभागिताको सुनिश्चितता र नविनतम सूचना प्रविधी र कृत्रिम बौद्धिकताको भरपुर उपयोगलाई प्राथमिकतामा राखिएको छ । File Photo/RN