काठमाडौं, ६ चैत । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेतृत्वको व्यवसायिक कानुन व्यवसायी समूहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी चैत २३ मा नेपाल बार एशोसिएशनको पदाधिकारी चयनका हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता श्रेष्ठ अध्यक्षको उम्मेदवार रहेका छन् । व्यवसायिक कानुन व्यवसायी समूहले यज्ञमणि न्यौपानेलाई महासचिवको उम्मेदवार बनाएको छ ।
व्यवसायिक कानुन व्यवसायी समूहले स्वतन्त्र, सक्षम, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिकालाई प्रमुख प्राथमिकतामा राखेको छ । अदालतबाट भएका विवादित तथा चुनिएका फैसलाहरू जुरी मेट्रिक्स अनुसन्धान पद्धतिबाट अध्ययन गरी सुझाव दिन एक फैसला अध्ययन समिति गठन गरिने सो समितिको अध्ययन सुझावलाई नियमित रूपमा प्रकाशन गरिने व्यवसायिक कानुन व्यवसायी समूहको प्रतिवद्धता रहेको छ ।
अदालतमा हुने विकृति, विसंगति अनियमितता र भ्रष्टाचार विरुद्ध विशेष कार्यक्रम सञ्चालन गरिने, न्यायपालिका भित्र भएका विकृति, विसंगति, अनियमितता र भ्रष्टाचारविरूद्ध लेख्ने, बोल्ने र विरोध कार्यक्रम गरिने, न्यायपालिकालाई अनावश्यक रूपमा विवादित बनाउने र न्यायपालिका माथि जुनसुकै क्षेत्रबाट अनावश्यक प्रहार भएमा त्यसको विरुद्ध बारले जोडदार रूपमा आवाज उठाउनुपर्ने सो समूहको धारणा रहेको छ ।
सो समूहले न्यायपालिकालाई आवश्यकताअनुसारको बजेट विनियोजन गरिनुपर्ने र न्यायाधीश नियुक्ति निश्चित मापदण्डका आधारमा अनुभव, योग्यता, क्षमता, विषय विज्ञता र न्यायिक आधारमा पारदर्शी रूपमा गर्न दवावमूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरेको छ ।
त्यसैगरी, न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्न स्वतन्त्र न्यायपालिकाको संस्थागत विकास गर्न पहल गर्ने, प्रोवोनो सेवालाई व्यवस्थित गरिने, न्यायपालिकासँग समन्यव गरी मुद्दाको सुनुवाई प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाइने, सेवाग्राहीको न्याय पाउने अधिकारलाई सुनिश्चित गर्न र जनताको न्यायमा सहज पहुँचको सुनिश्चितताको लागि आवश्यक पहल गरिने व्यवसायिक कानुन व्यवसायी समूहले न्यायपालिका सुधारअन्तर्गत आफ्नो प्रतिवद्धता र धारणहरु सार्वजनिक गरेको छ । File Photo/RN




प्रतिक्रिया