२५ करोडको विदेशी मुद्रा कहाँबाट आयो र यसमा कसको संलग्नता छ भन्ने सत्यतथ्य बाहिर आउनुपर्छ : डा. महतो


काठमाडौं, ६ चैत्र । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले काठमाडौंबाट २५ करोडभन्दा बढिको विदेशी मुद्रासहित एकजना पक्राउ परेको घट्ना उल्लेख गर्दै यस विषयमा सरकारको ध्यानाकार्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नयाँ आईजिपीले फूली लगाउनु र ठूलो मात्रामा विदेशी मुद्रासहित व्यक्ति पक्राउ पर्नु संयोगमात्रै हो कि पहिलेदेखि नै यस्तो तस्करी हुन्थ्यो भन्ने प्रश्न उठाएका छन् । उनले सामान्य मानिसले २५ सय डलरमात्रै विदेशी मुद्रा सटही गर्न पाउने र त्यसमापनि पासपोर्टमै छाप हान्ने चलन रहेको स्मरण गराए । यत्रो ठूलो परीमाणमा विदेशी मुद्राको तस्करी हुनु भनेको नेपालको बैंकिङ च्यानल प्रयोग भएको हुनसक्ने आशंका सुनाउँदै त्यसमा पनि छानबिनको माग गरे ।

उनले भने,‘यो विषयमा म सभामुखमार्फत गृहमन्त्रालयको ध्यानाकार्षण गराउन चाहन्छु । यो विडम्बना हो कि, अहिलेमात्रै यो भएको हो कि निरन्तर भैरहन्छ ? नेपालमा कसैले १०, २० लाख नेपाली रुपैयाँ बोकेर हिँडेपनि स्रोत खोजिने र मान्छे पक्राउ गर्ने गरिएको भन्दै यत्रो परीणाममा विदेशी मुद्रासहित व्यक्ति पक्राउ भएको छ, यसमा सत्यतथ्य बाहिर आउनुपर्छ ।’ उनले बरामद गरिएको विदेशी मुद्रा नेपालमा कुन बैंकबाट रिलिज भएको हो वा ती मुद्रा नक्कली वा सक्कली के हो भनेर त्यसको बास्तविकता पनि बाहिर ल्याउनुपर्नेमा जोड दिए । उनले यत्रो परीणाममा पैसा कहाँबाट आएको हो र यसमा कसको संलग्नता छ भन्ने कुरा सत्यतथ्य बाहिर आउनुपर्ने माग गरे ।

नेपाल प्रहरीले काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको थियो । विदेशी मुद्रा सबै युरो र अमेरिकी डलर हो । प्रहरीले फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । अहिलेसम्म ती पक्राउ परेका लामाले आफू भरियामात्रै भएको दाबी गर्दै आएका छन् ।