निराशा र आक्रोशको पृष्ठभूमिमा राजतन्त्ररुपी वीर, मसान जगाउने चेष्टा गरिँदैछः माओवादी नेतृ चन्द

‘हिन्दु धर्म आफैंमा शाश्वत छ, कसैले म आएर बचाउँछु भन्ने कुरा मस्खरीजस्तो लाग्छ’


काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं राष्ट्रिय सभा सदस्य रेणु चन्दले नागरिकमा व्याप्त निराशा र आक्रोशको पृष्ठभूमिमा राजतन्त्ररुपी वीर मसान जगाउने प्रयास भइरहेको बताएकी छन् । आज (बुधबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले हिन्दु धर्मको आडमा राजावादीहरु सल्बलाएको बताएकी हुन् । हिन्दु धर्मको आडमा राजावादीहरुले जनतामाझ भ्रम छरिरहेको उनले बताईन् । नेपालमा राजतन्त्र १६/१७ वर्षअघि नै अन्त्य भइसकेको, तर हिन्दु धर्म सधैं रहिरहने उनको भनाइ छ । नेपालको तथ्याङ्क अनुसार अहिलेसमम्म नेपालका हिन्दुहरु मिसलिड नभएको र कसैको प्रभावमा नपरेको उनको दाबी छ । राजावादीहरुले आफ्नो राजनीतिक रोटी सेकाउन धर्मलाई आड बनाइरहेको उनको दाबी छ ।

‘अहिले व्याप्त निराशा, आक्रोशको पृष्ठभूमिमा, हिन्दु धर्मको आडमा राजतन्त्ररुपी वीर मसान जगाउने चेष्टा गरिँदैछ । १६/१७ वर्षदेखि राजा छैनन् । तर, हिन्दु धर्म छ र रहिरहने छ । राजनीतिको रोटी सेक्नलाई धर्मको आड चाहिएला । तर, धर्मलाई त्यसको दरकार हुँदैन । पछिल्ला दिनहरुमा राजतन्त्र नहुँदा हिन्दु धर्म मासियो, डलर दिएर धर्म कन्र्भट गराइयो जस्ता हल्ला छन् । अनि राजावादी साथीहरुले भन्नुहुन्छ, राजतन्त्र ल्याउँ अनि हिन्दु धर्म बचाइन्छ रे । विष्णुको अवतार मानिएका आफ्नै परिवारका सदस्यबाट मारिँदा आफ्नो परिवार बचाउन सकेनन्, धर्म बचाउँछन् भनेर कसरी र कसले पत्याउने ? धर्म के हो ? जे धारण गर्न योग्य छ, त्यो धर्म हो । हिन्दु धर्म आफैंमा शाश्वत छ । म आएर बचाउँछु भन्ने कुरा मस्खरीजस्तो लाग्छ,’– उनले भनिन् ।

साथै, डलरको आडमा हिन्दु धर्म परिवर्तन भयो भन्नु हिन्दुहरुकै अपमान रहेको उनले बताईन् । घाँटी काटिँदासम्म परिवर्तन नहुने हिन्दु्हरु डलरमा विक्री हुन्छन् भन्ने कुरा सिद्ध हुनै नसक्ने उनको दाबी छ । उनले हिन्दुको आस्था नेपालमा विकाउ छ भनेर केही मान्छेहरुले मार्केटिङ गर्न यस्तो भ्रम फिँजाएको हुनसक्ने बताईन् ।

‘डलर खर्च गरेर हिन्दु धर्म परिवर्तन गरियो भन्नु नै हिन्दुको अपमान हो । हिन्दुको आस्थाको अपमान हो । घाँटी काटिँदा परिवर्तित नहुने हिन्दुहरु डलरले परिवर्तित हुन्छन् भन्ने कुरा कसरी सिद्ध हुन्छ ? हिन्दुको आस्था यति कमजोर छैन, जो डलरमा विक्री होस् । डलर बोकेर ल्याउ, हिन्दुको आस्था नेपालमा विकाउ छ भन्ने मार्केटिङ पो गरेको हो कि ? यो हिन्दु धर्मलाई कमजोर बनाउने भाष्य निर्माण गरिएको हो कि ? तथ्य र तथ्याङ्कले नेपालका हिन्दुहरु मिसलिड भएका छैनन् भन्ने नै देखाउँछ,’– उनले भने ।