माओवादी सशस्त्र विद्रोह ‘राष्ट्रिय गल्ती’ रहेको प्रधानमन्त्री ओलीको दाबी, हिंसालाई ‘ग्लोरीफाई’ गर्ने मनोदशा त्याग्न प्रचण्डलाई सुझाव


काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका कारण विगतमा नेपालले भोग्न नपर्ने, अनावश्यक र अनुचित हिंसा भोगेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले माओवादीले अहिले पनि छुट्टी मनाउने, बाजा बजाउनेजस्ता कुरा गरेर हिंसालाई ग्लोरिफाई गरिरहेको बताए । माअ‍ोवादीको त्यस्तो प्रकारको क्रियाकलापको कारण हजारौं मान्छेहरु भिक्टिम भएको, हजारौंको संख्यामा मान्छेहरुको ज्यान गएको, हजारौंले वैधव्य ब्यहोर्नुपरेको र हजारौं टुहु्रा–टुहुरी भएको उनले बताए ।

‘एउटा क्रन्दन छ, पीडा छ । त्यसमा मल्हम लगाउन पर्ने ठाउँमा फेरि पनि किन ग्लोरीफाई गरिराखेका छौं ? त्यसलाई उधुम गरेका थियौं हामीले, राम्रो गरेका थियौं हामीले, यही हो राम्रो ? यस भ्रमबाट मुक्त हुनपर्छ । आफ्नै काम पनि हिजो बेठीक रहेछन् भने बेठीक भएछ भनेर जनताका अगाडि आत्मालोचित भएर पेश हुन सक्नुपर्छ । त्यो एउटा राष्ट्रिय गल्ती थियो । अब उप्रान्त यस्तो नहुने कुराको अलिकति रिस उठ्यो भने फेरि जाउँ त ? यस्तो खालको हुन हुँदैन । यो कुनै चानचुने कुरा होईन, ख्यालमा भन्ने कुरा पनि होईन । ‘बिसाएका हौं, छोडेका छैनौं’ यस्तो खालको कुरा र शान्ति प्रक्रिया मलाई त्यसमा डर छ, विलम्ब यसै मनोदशाले पनि भएको होला । यो मनोदशा त्याग्नुपर्छ,’– उनले भने ।

साथै, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन आफू तयार रहेको पनि प्रधानमनत्री ओलीले बताए । उनले आफू शान्ति प्रक्रियालाई सफल पार्न तयार रहेको र श्रेय जति आफूबाहेक अरुलाई दिँदा हुने ओलीले बताए । ‘फेरि यस्तो हुँदैन भन्ने प्रत्याभूति दिनुपर्छ । अरुलाई पीडा भएन भने पनि पीडितलाई तिनै दिन सम्भिएर ऐँठान हुन नहुँदैन । म यसलाई सफल पार्न चाहन्छु । श्रेय जति म बाहेक अरु सबैलाई दिन चाहन्छु् । मलाई श्रेयको भोक होईन । श्रेय चाहिएन । पीडितको घाउमा मल्हम लगाउँ । अब नेपालमा शान्ति हुने छ । अब उप्रान्त नेपालमा यस्तो हिंसा हुने छैन,’– उनले भने ।