पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपलब्ध गराइँदै आएको सुरक्षा सुविधा घटाइयो


काठमाडौं, १७ चैत । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा सुविधा कटौती गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गर्दै सुरक्षाकर्मीको सङ्ख्या घटाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए । सरकारले अतिरिक्त सुविधा कटौती गर्दै पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्थामात्रै उपलब्ध गराएको हो ।

पूर्व राष्ट्रप्रमुखको सुरक्षामा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था छ । सरकारले यसअघि ज्ञानेन्द्रको सुरक्षामा २५ जना सुरक्षाकर्मी उपलब्ध गराएको थियो । अतिरिक्त सुविधाअन्तर्गत सरकारले ९ जना सुरक्षाकर्मी कटौती गरेको हो । File Photo/RN