हिंसात्मक आन्दोलनका योजनाकार ज्ञानेन्द्र नै हुन्, छानविन गरी कारबाही गर्नुपर्छः एमाले उपाध्यक्ष ज्ञवाली


काठमाडौं, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले गत शुक्रबार काठमाडौंमा भएको राजावादीहरको हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त हिंसात्मक आन्दोलनको मुख्य योजनाकार नै ज्ञानेन्द्र शाह रहेको बताए ।

नेता ज्ञवालीले सबै तथ्य, तथ्याङ्क केलाएर ज्ञानेन्द्रलाई छानविनको दायरामा ल्याई कारबाही गरिनुपर्ने बताए । उक्त घटनाका सबै दोषीहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनुपर्ने उपाध्यक्ष ज्ञवालीले बताए । सरकार सबै दोषीहरुलाई कानुनबमोजिम कारबाही गर्ने बाटोमा अगाडि बढिसकेको पनि उनको भनाइ छ ।

‘हिंसात्मक आन्दोलनका मुख्य योजनाकार ज्ञानेन्द्र शाह नै हुन् । अब यसमा सरकारले छानविन गर्दैछ । सबै कुरा, सबै तथ्य, तथ्याङ्क केलाएर दुर्गा प्रसाईँ त फरार छन् भन्ने सुनिन्छ । यसमा सरकारले सबै तथ्य, तथ्याङ्क केलाएर आवश्यक पर्यो भनेदेखि, सबै कुरा ज्ञानेन्द्रको निर्देशनमा भएको छ भन्ने कुरा पुष्टि हुने अवस्था आयो भने ज्ञानेन्द्र शाहलाई समेत कारबाही गर्ने स्थितितिर जानुपर्छ । छानविनको दायरामा उनलाई ल्याउनुपर्छ,’– उनले भने । File Photo/RN