लोकतान्त्रिक अभियानमा क्लब र ऋषि धमलाको भूमिका महत्वपूर्ण छ : उर्जामन्त्री खड्का


काठमाडौं, १७ चैत्र । उर्जामन्त्री दीपक खड्काले नेपालको लोकतान्त्रिक अभियानमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् । क्लबको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ऋषि धमलाको सक्रियताको पनि प्रशंसा गरे । उनले धमला नेपालको सेलिब्रेटी नै भएको बताए ।

उनले भने,‘मलाई त ऋषि धमला गज्जबको मान्छे लाग्छ, ऋषि धमला तीन/चार जना मान्छे छ जस्तो लाग्छ, विहानदेखि बेलुकासम्म उहाँलाई सुन्नुपर्नेछ । एकैछिन अघि एक ठाउँमा भेटेको ऋषिजी, एकैछिन पछि अर्को ठाउँमा भेटिनुहुन्छ । उहाँको सक्रियता त गज्जब नै छ । लोकतान्त्रिक अभियानमा उहाँको महत्वपूर्ण भूमिका छ । क्लबमा पनि सामान्य जनताको निम्ति, सुशासन र पद्धतीको लागि बिहानदेखि बेलुकासम्म बहस तथा छलफल गरिरहेको पाईन्छ । सेलिब्रेटी आएभन्दा बढि छ, हार्दिक बधाई दिन चाहन्छु ।’

उनले पत्रकार धमलाले मुलुकमा सुशासनको लागि काम गर्न समय व्यतित गरेको सुनाए । उनले भने,‘निश्पक्ष ढंगले पत्रकारिता हुनुपर्छ । पत्रकारिताको नाममा विकृति भएका छन् । समाजलाई नै ठीक दिशा दिन नसकेको अनुभूति हुन्छ । तर, क्लब र ऋषिजीले ठीक ढंगले समाजलाई सम्प्रेषण गरेको पाईन्छ । अहिले गणतन्त्रमाथि हमला गर्न खोजिएको छ । यसप्रति पनि क्लबलाई जगर्नेनाको लागि अझ सफलता मिलोस । लोकतन्त्र र गणतन्त्रको लागि अझै बढि लडिरहने उर्जा मिलिरहोस । हार्दिक शुभकामना ।’