राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि करोडौंको चलखेल भइरहेको माओवादी नेता मोदीको आरोप (भिडिओसहित)


काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले देशमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा निरङ्कुश राजाको नजिक बसेर खाइपाइ आएकाहरुले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर दिवास्वप्न देखेपनि त्यो पूरा नहुने बताएका हुन् । २०५८ जेठ १९ गते विभत्स दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्रको अन्त्य भएको बताए ।

‘वीरेन्द्रको परिवारलाई मात्रै गोली लाग्नुपर्ने र पूर्वराजा ज्ञानेन्द्रको परिवारलाई गोली नलाग्नुपर्ने । यसमा गम्भीर प्रश्न छ । जो बाँचेको थियो, पोखरामा गएर हेलीकोप्टर दुर्घटना भएर मर्नुपर्ने । त्रिभुवन सदन प्रमाण नष्ट हुने गरी भताभुङ्ग बनाइयो । दरबार हत्याकाण्डबाटै राजतन्त्र सकिइसकेको थियो । अब यहाँ हिजोसम्म खाइपाई आएकाहरु राजतन्त्र फर्किन्छ कि भनेर दिवास्प्न देख्छन् । कुनै हालतमा पनि राजतन्त्र फर्किँदैन,’– उनले भने ।

साथै, गणतन्त्रको रक्षा गर्ने प्रमुख दायित्व माओवादीको रहेको उनले बताए । व्यवस्थामाथि प्रहार हुँदा कांग्रेस–एमालेलगायतका दलहरुलाई जति दुख्नुपर्ने हो त्यति नदुखेको पनि नेता मोदीको भनाइ छ । कांग्रेस–एमालेसहितको सरकारले काम नगरेको कारण जनतामा असन्तुष्टि बढिरहेको उनले बताए । कांग्रेस–एमालेसहितको गठबन्धन सरकार सुशासनको पक्षमा छ कि छैन भन्ने कुरा अहिले गभर्नर नियुक्ति प्रक्रियामा भइरहेको चलखेलले पुष्टि गर्ने उनले बताए । ‘रातारात करोडौं, करोड पैसाको चलखेल गरिराखेका छन् । यो भन्दा दुर्भाग्य यो देशमा के हुनसक्छ ? राष्ट्र बैंकजस्तो संस्थामा पैसा, सेटिङ र चलखेलको आधारमा नियुक्ति गर्ने । जनता रिसाउँदैनन् ?’ प्रश्न गर्दै उनले भने ।