केन्द्रीकृत मानसिकताको विरुद्ध संघीय लोकतान्त्रिक मोर्चा बनेको होः लोसपा नेता शुक्ला (भिडिओसहित)


काठमाडौं, २२ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले नेकपा (एमाले) संविधान संशोधनको एजेण्डाबाट जहिले पनि तर्किएर बस्ने गरेको बताएका छन् । अहिले पनि आफूहरुले उठाएको मुद्दालाई सरकारले बेवास्ता गर्ने हो कि भन्ने डर आफूहरुलाई रहेको उनले बताए । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले वर्तमान संविधान त्रुटीपूर्ण रहेको र यसलाई जतिसक्दो छिटो सच्याउन आवश्यक रहेको बताए । नेता शुक्लाले मधेश केन्द्रीय सात दलीय ‘संघीय लोकतान्त्रिक मोर्चा’ को उद्देश्य पनि संविधा संशोधनको एजेण्डामै निहित रहेको उनले बताए ।

साथै, अहिले राजतन्त्र र गणतन्त्रबीच मुडभेडको अवस्था सिर्जना गरी संघीयताको विरुद्धमा जानीजानी दुस्प्रचार गर्ने प्रयास भएको उनले बताए । ‘संघीयता हामीले लडेर ल्याएको हो । रगतसँग साटेको हो यो संघीयता । यो संघीयतालाई सफल बनाउन प्रयास हामी गरिराखेका छौं । केन्द्रीकृत मानसिकता पुराना नेताबाट हटेकै छैन । त्यसलाइ बलियो बनाउनलाई हाम्रो मोर्चा आवश्यक छ,’– उनले भने ।

अहिले मधेश प्रदेशबाहेक अन्य प्रदेशमा कांग्रेस–एमालेको सरकार हुँदा पनि ती प्रदेशहरुमा संघीयताको बारेमा आवाज उठिरहेको उनले बताए । जनतामा अहिले राजनीतिक दलप्रति वितृष्णा आउनुको प्रमुख कारण भ्रष्टाचार रहेको उनले बताए । भ्रष्टाचार निर्मूल नभएसम्म जनताको असन्तुष्टिमा कमी नआउने उनको दाबी छ ।

साथै, सात दलीय मोर्चा आलोपालो प्रणालीमा चल्ने उनले बताए । ‘सामुहिक नेतृत्व हो । जसको नेतृत्व हुन्छ, उसकोमा मिटिङ हुन्छ । उसले अध्यक्षता गर्छ । यसमा सबै नेताहरु सहमत हुनुहुन्छ । यसपाली हामी मिलेर, हामी सत्ताको लागि होइन कि मुद्दाको लागि एकता गरेका हौं,’– उनले भने ।

सत्तामा हुँदाहुँदै पनि संविधान संशोधनको बारेमा आफूहरुसँग कुनै छलफल नगरिएको र संघीयताको विरोध भइराखेको उनले बताए । आफूहरुले जति संघीयताको महत्व कांग्रेस–एमालेले नबुझेको उनले बताए ।