नेपाल-भारतबीचको सम्बन्ध जति प्रगाढ बनाउन सकिन्छ, त्यति नै दुवैको हितमा हुन्छः पूर्वराजदूत उपाध्याय (भिडिओसहित)


काठमाडौं, २३ चैत । पूर्वराजदूत एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्नु अपेक्षित रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छिमेकी मुलुकका प्रधानमन्त्रीहरुबीच ‘वान टू वान’ वार्ता हुनु सकारात्मक रहेको बताएका हुन् ।

साथै, उनले छलफल गरेर नेपाल–भारतबीचको समस्या समाधानतिर जानुको विकल्प नरहेको बताए । भारत सरकार र नेपाल सरकारबीच बहुपक्षीय सम्झौता भएको कुराहरुमा पनि अहिले भारतीय पक्षले रोकिरहेको र त्यसको परिणाम स्वरुप नेपालको उद्योग र व्यापारमा उतारचढावहरु आउने गरेको बताए । यस्ता कुरामा भारत सरकारको ध्यानाकर्षण गराउन सक्नुपर्ने उनको सुझाव छ ।

अब भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नचाहिँदा कुरा गरेर र खोक्रो राष्ट्रवाद प्रदर्शन गरेर देशलाई सधैं पछाडि पार्न नहुने उनले बताए । नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनले एकअर्काको विकासको आधारमा अगाडि बढ्नुको विकल्प नहेको दाबी गरे ।

‘नेपाल र भारतको बीचमा अन्योन्याश्रित सम्बन्ध छ । हामी नमिलीकन नेपालको विकास सम्भव नै छैन । सौहार्द सम्बन्धलाई जति प्रगाढ बनाउन सकिन्छ, त्यती दुवैको हितमा छ । सम्बन्धमा चिसोपन आयो, दरार आयो भन्दा भारतीय पक्षहरुलाई पनि दुःख नै लागेको मैले पाउँछु । किन यस्तो हुँदैछ, कसले गर्दैछ भन्ने कुरामा उनीहरु पनि चिन्तित देखिन्छन्,’– उनले भने ।

प्रधानमन्त्री ओली र माेदीबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनपछि थाइल्याण्डको बैंककमा ‘वान टू वान’ वार्ता भएको थियो । ओली–मोदीबीचको भेटवार्तापछि नेपाल–भारतबीच बिग्रिएको सम्बन्धमा सुधार आएको विश्वास लिइएको छ । File Photo/RN