काठमाडौं, २३ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार यथास्थितिको बाटोमा हिँडिरहँदा पुनरुत्थानवादीहरु जुर्मुराएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंको काँडाघारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनआकांक्षाअनुसार काम गर्न नसकेको र यथास्थितिमा रुमलिएको बताएका हुन् ।
देशमा संविधान जारी भइसकेपछि वामपन्थीहरुले आमूल परिवर्तनको आकांक्षा राखेको भएपनि त्यो पूरा नभएको उनको भनाइ छ । उनले भने, ‘पार्टीका कार्यकर्ताहरु र सम्पूर्ण वामपन्थीहरुको आकांक्षा थियो तर नेतृत्वमा वा सत्तामा पुगेपछि वामपन्थी साथीहरु यथास्थितिको बाटोमा हिड्नुभयो ।’
सरकारले मुलुकको आर्थिक–सामाजिक रूपान्तरणको पक्षमा केही पनि गर्न नसकेको उनको दाबी छ । भूमि सुधार, कृषि क्रान्ति, कृषिलाई आधुनिकीकरण, यन्त्रिकीकरणलगायतका काम गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए । किसानको उत्पादनले मूल्य नपाएको, उत्पादित वस्तुले बजार नपाएको र बजार व्यवस्थामा सरकारले ध्यान दिन नसकेको उनले बताए ।




प्रतिक्रिया