काठमाडौं, २४ चैत । शिक्षाविद् डा.विद्यानाथ कोइरालाले राजनीतिक दलहरुले शिक्षकहरुलाई पेशाकर्मी बन्न नदिएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलहरुले शिक्षकहरुलाई हतियारमात्रै बनाएको बताएका हुन् । सरकारले शिक्षकहरुलाई अध्यावधिकसमेत गर्न नचाहेको उनको दाबी छ ।
‘उहाँहरुले शिक्षकहरुलाई हतियार बनाउनु भयो । शिक्षक बन्न पनि दिनुभएन । पेशाकर्मी भन्न पनि दिनुभएन । शिक्षकहरु भनेको दिनहुँ अनुसन्धान गरिरहने मान्छेहरु हो । उहाँहरुले अनुसन्धान गरेको ती कुराहरुको संकलन गर्ने तरिका पनि गर्नुभएन । केही शिक्षकहरु साह्रै असल हुनुहुन्छ । उहाँहरुले आफ्नो दलको मान्छेको निम्ति कार्यक्रम गर्ने र त्यो किसिमको वकालत गर्ने गर्नुभयो । शिक्षकहरु पुराना विद्यार्थीहरु नयाँ भए । शिक्षकहरुलाई अध्यावधिक गर्न तयार हुनुभएन,’– उनले भने ।
अब शिक्षकहरुले सडक नछाडेको खण्डमा सरकारले तत्काल संसद् आह्वान गरेर शिक्षा ऐन जारी गर्नुको विकल्प नरहेको उनले बताए । शिक्षकहरुले शिक्षा ऐन एउटै मागबाट सबै कुराको समाधान खोज्न खोजेको उनले बताए । सरकार शिक्षकहरुको मागमा जिम्मेवार नभएको उनले बताए । सरकारले २०७५, ०७८ र ०८० मा तीन पटक सम्झौता र वार्ता गरेकोमा सरकार जिम्मेवार नभएको उनको दाबी छ । ृउनले अब तत्काल शिक्षा ऐन जारी गर्नु र शिक्षकहरुको यो माग सम्बोधन गर्न सकिन्छ, यो सकिँदैन भन्ने कुरा प्रष्टसँग भन्न सक्नुपर्ने उनले बताए ।
‘सरकार जिम्मेवार भएन छ भन्ने मैले बुझ्छु । २०७५ सालमा, ०७८ सालमा र ०८० सालमा तीन पटक उहाँहरुले वार्ता र सम्झौता पनि गर्नुभयो । उहाँहरुले भनेका मागहरु सबै पूरा गर्नुपर्छ भन्ने होईन । जुन कुरा सकिन्छ, गर्ने यो–यो भनौं । सकिँदैन यो–यो सकिँदैन भनौं । नसकिने कारण चाहीँ यो हो भनौं भनेर मैले आफ्नो खाका बनाएर शिक्षा मन्त्रालयलाई पनि दिएको थिएँ । शिक्षक महासंघका साथीहरुलाई पनि दिएँ । त्यो उहाँहरुले चासो लिनुभएन । त्यो कारणले यसलाई अगाडि बढाउन सकिएन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया