कांग्रेस-एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न सकेको छैनः शेखर कोइराला

सरकारले देशको अर्थतन्त्रमाथि खेलिरहेको र मजाक गरिरहेको डा.कोइरालाको आरोप


काठमाडौ, २४ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् । आज (आइतबार) डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइएको भएपनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए । नेता कोइरालाले देशको आर्थिक अवस्था दिनानुदिन खराब हुँदै गएको र विचौलियाहरुको बिगबिगी नै रहेको बताए । उनले भने, ‘हरेक तप्काका विचौलियाहरुको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमालेका नेतृत्वमा नेपाली कांग्रेसको सरकार पनि छ । यो सरकार बनाउँदाखेरी एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीहरुले अगाडि बढाउन सकिएको देखिएको छैन । संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यतातिर ध्यान पुर्याउन सकिएको छैन । के–केमा संशोधन गर्ने हो, त्यो हामी गरौं । गर्नै पर्छ । किनकी प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा हो । कांग्रेस–एमालेको सहमतिको डकुमेन्ट हो यो ।’

साथै, सरकारले देशको अर्थतन्त्रसँग खेलेको र मजाक गरेको उनको आरोप छ । उनले अर्थतन्त्रमाथि मजाक गर्ने छुट वर्तमान सरकारलाई नरहेको बताए । ‘आर्थिक अवस्था एकदम नाजुक छ । त्यसलाई सुधार गर्ने प्रक्रिया अगाडि बढ्यो भनेर अध्यादेशमार्फत ऐन पनि आयो । कतिको हुन्छ हेरौं । त्यहाँ पनि विचौलियाहरुकै खेल छ कि ?’ प्रश्न गर्दै उनले भने ।

सरकार बनाउने क्रममा ‘सुशान दिन्छौं, भ्रष्टाचार न्युनीकरण गर्छौं’ भनिएपनि अहिले देशको अवस्था कस्तो छ भन्ने कुरा डा.कर्माचार्यको पुस्तकले प्रष्ट गर्ने उनले बताए । ‘सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीहरुले सावित गर्न सकिरहेको छैनौं । के उपायहरु छैन ? उपायहरु छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरुमा, नेतृत्वमा हुनुपर्यो,’– उनले भने ।

https://www.facebook.com/sarokartvhd1/videos/976824864566079