दुर्गा प्रसाईँबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहा छ, चेकिङको क्रममा प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको छः अधिवक्ता नेपाल


काठमाडौं, २६ चैत । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दुर्गा प्रसाईँबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जानकारी रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले दुर्गा प्रसाइँ आफैं भागेर नभएर राज्यले भगाएको दाबी गरेका हुन् । काठमाडौंबाट बाहिरिएपछिको हरेक चेकिङको क्रममा प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको उनको दाबी छ । उक्त कुरा प्राप्त सीसीटिभी फुटेजले समेत प्रमाणित गर्ने अधिवक्ता नेपालको दाबी छ ।

‘दुर्गा प्रसाईँज्यूको बारेमा केपी ओलीज्यूलाई र रमेश लेखकज्यूलाई थाहा छ । राज्यले गोली हानेर लखेट्यो, उहाँले भन्दै गरेको सुनिन्छ– प्लिज यो अश्रुग्यास प्रहार नगर्दिनुस् भन्दै हुनुहुन्छ । अब भागेको होईन, गोली हानेर भगाएको हो । प्रहरीले गाडीमा जानु पूर्व नै उहाँलाई पक्राउ गर्न सक्थ्यो । करिडोर नै करिडोर उहाँ जानुभयो । यसरी काठमाडौं खाल्डोको गाडी यहाँबाट बाहिर जाँदा धेरै ठाउँमा चेक गर्छ प्रहरीले ।’ उनले भने, ‘प्रहरीले गाडीभित्र कतिजना प्यासेन्जर छन् पनि हेर्छ । म जाँदा पनि गरेको छ । अब हरेक ठाउँमा दुर्गा प्रसाईँलाई देखेपछि प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको छ । हरेक ठाउँमा चेक भएको छ । सबै ठाउँमा सिसिटिभी फुटेजमा देखिन्छ दुर्गा प्रसाईँज्यूको गाडी । गोली हानेर लखेट्ने अनि भाग्यो भन्ने ?’

अधिवक्ता नेपालले दुर्गा प्रसाईँलाई अहिले फरार भन्न नमिल्ने बताएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी नभएको मान्छेलाई फरार भन्न नमिल्ने उनको तर्क छ ।