गणतन्त्रवादी नेताहरुलाई लिङ्देनको सुझावः ‘आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस्, त्यो दिन आउँछ’


काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भनेकै कारण सरकारले मानिसहरुलाई थुन्ने हो भने आफूहरु लाखौंको संख्यामा थुनिन तयार रहेको बताएका छन् । आज (मंगलबार) बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारले राजा चाहिन्छ भनेकै भरमा थुन्ने हो भने आफूहरुको लागि जेल खाली गरिराख्न आग्रह गरे । अध्यक्ष लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नामा देशमा लुटतन्त्र मच्चाइरहेका नेताहरुको बारेमा पनि आफूहरुले राम्रोसँग हेरिरहेको बताए । उनले गणतन्त्रवादी नेताहरुलाई आफ्नो लागि पनि राम्रो जेल बनाएर राख्न सुझाव दिए । अध्यक्ष लिङ्दनेले त्यो दिन आउने ठोकुवा गरे ।

‘राजा चाहिन्छ भनेको कारण मानिसहरुलाई थुन्ने हो भने हामी लाखौं मानिसहरु थुनिन तयार छौं । जेल खाली गर्नुस् हाम्रा लागि । तर, यो संगसँगै याद राख्नुस्, तपाईँहरुले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा तपाईँहरुले देशमा जुन प्रकारको लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई हामीले राम्रोसँग हेरेका छौं । तपाईँहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस् । आउँछ, त्यो दिन आउँछ,’– उनले भने ।

अध्यक्ष लिङ्देनले गत चैत १५ गतेको घटना छानविनको लागि निष्पक्ष न्यायिक आयोग गठन हुनुपर्ने बताए । सर्वोच्च अदालतका पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गरेका मानिसहरु संलग्न निष्पक्ष आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याइनुपर्ने उनको माग छ । अध्यक्ष लिङ्देनले भने, ‘चैत १५ गतेको घटनाको निष्पक्ष छानविन हुनुपर्यो, न्यायिक आयोग गठन हुनुपर्यो । यो सरकारको कारिन्दाहरुको आयोग होईन । सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गर्ने मानिसहरुको, स्वतन्त्र र निष्पक्ष मानिसहरुको आयोग गठन होस् । छानविन होस्, दोषी को हो ? त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस् ।’

उक्त घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुलाई अपमानजनक ढंगले हिरासतमा राखिएको भन्दै उनले आपत्ति जनाए । उक्त कुरालाई आफूहरुले ईखको रुपमा लिएको पनि अध्यक्ष लिङ्देनले बताए । ‘गणतन्त्रको कुरा गर्ने, लोकतन्त्रको कुरा गर्ने । तर, फरक मत राखेकै कारण तपाईँहरुले प्रहरी हिरासतमा जुन अपमानजनक ढंगले राखिराख्नु भएको छ नि, त्यसलाई हामीले ईखको रुपमा लिएका छौं । रमेश लेखकजी, केपी ओलीजी यसलाई हामीले ईखको रुपमा लिएका छौं । चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईँले खोरमा जसरी अपमानित ढङ्गले राख्नुभएको छ, हाम्रो पार्टीको उपाध्यक्षलाई जसरी अपमानित ढंगले राख्नुभएको छ । त्यसबाट हामी होचिएको छैनौ., ईखको रुपमा लिएको छौं,’– उनले भने ।