तीनकुने हिंसात्मक प्रदर्शनः मृतकका परिवारलाई मिनबहादुर गुरुङद्वारा सहयोग हस्तान्तरण, सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर


काठमाडौ., २७ चैत । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङले तीनकुनेको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजकको परिवारलाई भेटेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आज (मंगलबार) मिनबहादुरले रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मृतक रजक र महर्जनको परिवारलाई गुरूङले आफू दुःखमा साथ दिन आएको बताएका थिए ।

साथै, गुरूङले महर्जनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत बताएका छन् । राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा महर्जनको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको भने जलेर मृत्यु भएको थियो । उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठिरहेको छ ।