शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्रका चार जनसंगठनको ऐक्यबद्धता, संसद्को विशेष अधिवेशन माग


काठमाडौं, २६ चैत । नेकपा (माओवादी केन्द्र) का चार जनवर्गीय संगठनहरुले शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगतबहादुर सिम्खडा, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियार र नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनमा ऐक्वद्धता जाहेर गरेका हुन् ।

तत्काल संसद्को विशेष अधिवेशन आह्वान गरेर वा वैकल्पिक व्यवस्थाद्वारा विद्यालय शिक्षा विधेयक जारी गर्न उनीहरुले माग गरेका छन् । साथै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल शिक्षक महासंघसँग २०८० असोज ५ गते र असोज १२ गते गरेको सहमतिका आधारमा शिक्षकहरूको हक, हित र अधिकार सुनिश्चित गर्दै विद्यालय शिक्षालाई जनमुखी, परिणाममुखी र प्रभावकारी बनाउने गरी शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।

‘हामी नेकपा (माओवादी केन्द्र) का आधारभूत वर्गका ४ जनसंगठनहरू आफ्ना छोराछोरीको जीवनमा शिक्षाको दियो बाल्ने शिक्षकहरूले आफ्नो हक, हित र अधिकारका लागि गरिरहेको न्यायपूर्ण संघर्षको पक्षमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दै सबै देशभक्त विद्यार्थीहरू र आम जनसमुदायलाई यो संघर्षमा ऐक्यबद्धतासहित आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न अपिल गर्दछौँ,’– विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार सत्ताको भत्तामा रमाइरहेको माओवादी केन्द्रका जनवर्गीय संगठनहरुको ठहर छ । माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले सरकार विद्यालय शिक्षा ऐन र शिक्षकहरूका मागहरूप्रति उदासिनता र गैरजिम्मेवार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।