सरकारले शिक्षकहरुको माग नसुनेको भन्दै झलनाथको आपत्ति, जनआन्दोलन उठ्ने चेतावनी


काठमाडौं, २७ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले शिक्षकहरुको माग सुनेको नसुन्यै गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) विज्ञप्ति जारी गर्दै नेता खनालले शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन र ऐक्यबद्धता प्रकट गरेका छन् । शिक्षकहरूको जायज माग अविलम्ब पूरा गर्न उनले सरकारसँग माग गरेका छन् ।

‘विगत ७ दिनदेखि देशको राजधानी काठमाडौँमा देशभरका शिक्षकहरू अभिलम्ब नयाँ शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग राखी सडक आन्दोलनमा उत्रिएका छन । तर शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ । उनीहरूका जायज आन्दोलनप्रति वेवास्ता गरिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी, वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरुको यो आन्दोलनप्रति दर्हो ऐक्यबद्धता प्रकट गर्दछु,’– पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमार्फत भनेका छन् ।

शिक्षकहरुको मागहरूलाई सरकारले उच्च सम्मानका साथ हेर्नुपर्ने र गुनासा सुन्नुपर्ने खनालको भनाइ छ । सरकारले शिक्षकहरुलाई बेवास्ता गरेको देख्दा आश्चर्य र दुःख लागिरहेको पनि उनले बताएका छन् । आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अविलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई आ,आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार सरकारसँग उनले माग गरेका छन् ।

शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारविरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने नेता खनालको चेतावनी रहेको छ । आफूहरुसँग विगतमा गरिएको सम्झौता र सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु आठ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षा ऐन नलिई कार्यक्षेत्रमा नफर्किने उनीहरुको अडान रहेको छ । File Photo/RN