काठमाडौंमा मैले जति काम गरेँ अहिले त्यसैको निरन्तरता हो, बालेनले त हल्ला गरिरहेका छन्ः पूर्वमेयर शाक्य (भिडिओसहित)


काठमाडौं, २८ चैत । एमाले नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले आफूले गरेको कामको अहिले बालेन शाहले हल्ला गरिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले मेयर बालेनले हल्ला गरिरहेको र आफूले गरेको दाबी गरिरहेको काम सबै आफ्नो कार्यकालमा गरेको दाबी गरेका हुन् । बालेनले केही पेड मिडियाहरुलाई प्रयोग गरेर आफूले काम गरेको भनी स्क्रिप्टमा हल्ला गरिरहेको र सरकारसँग जुहारी खेलेर चर्चामा आइरहेको बताए ।

‘काम गर्ने मै हो । हल्ला चाहीँ अहिले भइरहेको छ । अहिले कामभन्दा पनि हल्ला बढी भइरहेको छ । जति काम मेरो कार्यकालमा भयो, त्यसको निरन्तरता भइरहेको छ । त्यो बेला कुनै पनि संरचना नहुँदा संरचना बनाएर, कानुन बनाएर सबै काम हामीले गर्यौं । अहिले सबै हामीले बनाइदिएको कानुनमा टेकेर काम भइहेको छ । हामीले रोपेको रूखहरु अहिले ठूलो हुँदैछ । हामीले किनेको ब्रुमर अहिले सडकतिर कुदेको देखिराख्नुहुन्छ । हामीले किनेको दमकल अहिले सडकतिर हिँडेको देखिराख्नुहुन्छ । नयाँ के भएको छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले आफूले जति बोलेको सबै सही र सत्य बोलिरहेको बताए । आफ्नो अगाडि मेयर बालेन टिक्न नसक्ने उनको दाबी छ । पूर्वमेयर शाक्यले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई नालायकको संज्ञा दिए । गुरागाईँमाथि छानविन गर्ने अधिकार महानगरलाई नरहेको उनले बताए । महानगरलाई अधिकार नै नभएको विषयमा छानविन हुँदा तीन महिनासम्म कार्यालय नगएको भन्दै उनले नालायकको संज्ञा दिएका हुन् ।