भ्वाइस अफ नेपाल सिजन-६ का प्रतिस्पर्धी पाण्डेद्वारा भोटको लागि अपिल


काठमाडौं, २८ चैत । द भ्वाइस अफ नेपाल सिजन–६ को टप–८ मा पर्न सफल प्रोसेस पाण्डेले भोटको लागि अपिल गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई भोट गरेर सिजन ६ को विजेता बनाइदिन आग्रह गरेका हुन् ।

‘हजुरहरुले मलाई धेरैभन्दा धेरै भोट गर्दिनुहोला । हजुरहरुको साथ, सपोर्ट र भोटको खाँचो परेको छ । मलाई धेरैभन्दा धेरै भोट गरेर द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बनाइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु,’– उनले भने ।

नेपालमा रहेकाहरुले खल्ती एपमार्फत र विदेशमा रहेकाहरुले खल्ती डटकमको वेवसाइटमार्फत भोट गर्न सकिने उनले बताए । रिपोर्टर्स क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले प्रोसेस पाण्डेलाई भोट गरिदिन आग्रह गरे । उनले प्रतिस्पर्धी पाण्डेले आँखा नदेख्ने तर उनी विलक्षण प्रतिभा रहेको बताए ।

‘पाण्डेजी आँखा देख्नुहुन्न । उहाँसँग विलक्षण प्रतिभा छ, बेजोडको प्रतिभा छ । उहाँमा सिर्जनशीलता पनि छ । हामी सबै मिलेर उहाँलाई विजेता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । सहयोग गर्दिनुस् । उहाँसँग पैसा छैन, कला छ,’– धमलाले भने ।