सरकारविरुद्ध निरन्तर असन्तुष्टि ओकल्दै गगन, ताप्के नतातेर बिँडमात्रै तातेको टिप्पणी


काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । पार्टीको बाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठीक ढंगले काम गरोस् भनेर संयन्त्रमा बसेर काम गरिरहेको भएपनि ताप्के (प्रधानमन्त्री ओली) नतातेको बताए । आफूले सरकारले १८ देखि २० घण्टा काम गरेर जनगुनासो सम्बोधन गरोस् भन्ने चाहेको पनि उनले सुनाए । तर, ताप्के नतातेर बिँडमात्रै तातेको बताए ।

‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम गर्न सकिरहेको छैन । म अहिले जिम्मेवारीमा छु, संयन्त्रको जिम्मेवारीमा । …तर, यो बिँड तातेर केही नहुने रहेछ, ताप्के तात्नुपर्ने रहेछ । जिम्मा लिएको ताप्के तात्योभने बल्ल परिणाम आउँछ । नभए हामीलाई हुटहुटी हुने, म त १८/२० घण्टा काम गर्न तयार । सरकारमा बसेका साथीहरुले पनि १८÷२० घण्टा काम गर्नुपर्ने हुन्छ । जिम्मा लिएको काम गर्नुपर्यो । जिम्मा चाहीँ के छ भन्दा मन्त्रालयको, म पनि हिजो मन्त्री भएर आएको । म स्वास्थ्यमन्त्री भएर काम गर्दैगर्दा मलाई भूत के को सवार हुन्थ्यो भने त्यो बेलामा मैले दायाँबायाँ स्वास्थ्यभन्दा केही पनि देख्दैनथेँ । किनकी मेरो काम त त्यो हो नि त । मैले त्यो अनुभवको आधारमा प्रधानमन्त्री र मन्त्रीहरुलाई त्यो भनिरहेको हुँ । एकदमै छिटो परिणाम चाहिएको छ,’– उनले भने ।

साथै, उनले वर्तमान सरकारले आर्थिक सुधारको क्षेत्रमा भने केही काम गरेको दाबी गरे । महामन्त्री थापाले कांग्रेसकै आइडीयामा सरकारले अध्यादेशमार्फत विधिन्न ऐन कानुनहरु संशोधन गरेको पनि बताए । ‘सरकारले इमर्जेन्सीको महशुस गर्यो । आथिेक क्षेत्रमा समस्या छ । अर्थतन्त्रमा एकदमै ठूला दवाब छ । बैंककमा पैसा छ, ऋण लिन कोही पनि गइरहेको छैन । राष्ट्र बैंकमा विदेशी मुद्रा भरिभराउ छ, प्रयोग गर्न सकिएको छैन । सरकारसँग ढुकुटीमा भएको पैसा खर्च गर्न सकिएको छैन । अर्थात् अर्थतन्त्र धेरै ठूलो दवाबमा छ । यसको निम्ति हामीले वातावारण बनाउनुपर्छ । वातावरण बनाउनको निम्ति लगानीको वातावरण बनाउनुपर्यो, व्यवसायको वातावरण बनाउनुपर्यो । यसको निम्ति केही कानुनी सुधार गर्नुपर्छ भनियो । कांग्रेसकै आइडिया हो त्यो । हाम्रो आइडियामा हामीले सरकारलाई काम गरायौं । संयुक्त सरकारले काम गर्यो, केही सुधारहरु भएका छन्,’– उनले भने ।

उसो त महामन्त्री थापाले केही समयदेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारको निरन्तर विरोध गर्दैै आइरहेको छन् । रूपन्देही, गुल्मीलगायतका स्थानमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समेत उनले सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए । File Photo/RN

यो पनि पढ्नुहोस्ः काम गर्न छोडेर प्रधानमन्त्री र मन्त्रीहरु डुलेर हिँडेको भन्दै गगनको असन्तुष्टि, युद्धको मनोविज्ञानबाट काम गर्न सुझाव

घाम-जुन रहेसम्म सरकार रहन्छ भन्ने होइनः महामन्त्री थापा