काठमाडौं, २८ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले राजावादी समूहको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भए उनलाई तत्काल पक्राउ गर्न सरकारसमक्ष माग गरेका छन् । आज (बिहीबार) काठमाडौंमा नेविसंघले आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भए उनलाई पक्रिन प्रधानमन्त्री र गृहमन्त्रीले खुट्टा कमाउन नहुने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दैै अध्यक्ष शेर्पाले भने, ‘तपाईँले खुट्टा नकमाउनुस् । यदि ज्ञानेन्द्र शाहको त्यो घटनामा प्रत्यक्ष, अप्रत्यक्ष संलग्नता छ भने ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट समातेर हनुमान ढोकामा पुर्याउनुस् ।’
साथै, वर्तमान सरकार दुई तिहाइ नजिकको भएर पनि विद्यार्थी, अम किसान र मजदुरलाई राहत दिन नसकेको अध्यक्ष शेर्पाले बताए । उनले मन्त्रीहरु काममा व्यवस्त हुनु्पर्ने बेलामा अझै पनि उद्घाटन र खानपिनमै अल्झिरहेको टिप्पणी गरे । उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले आज विद्यार्थीहरुलाई राहत दिन सकिरहेको छैन । अम किसान, मजदुरहरुलाई राहत दिन सकिरहेको छैन । अझै पनि उद्घाटन र खानपिनमा हाम्रा मन्त्रीहरुको ध्यानकेन्द्रीत रहन्छ ।’
साथै, शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्नेतिर सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनले बताए । ‘आज शिक्षकहरु सडकमा आन्दोलन गरेको १०औं दिन भइसक्यो । तपाईँले किन बालुवाटारमा वार्ता गर्न बोलाउनुहुन्न ? आज के कारणले प्रधानमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू के कारणले चुकिरहनु भएको छ ? झण्डै दुई तिहाइको प्रधानमन्त्रीज्यूलाई के कुराले रोकिरहेको छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया