काठमाडौं, २९ चैत । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले दुर्गा प्रसाईँ अहिलेसम्म पक्राउ नपरेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रसाईँ प्रहरीको खोजी सूचीमै रहेको बताएका हुन् । ‘दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले अहिलेसम्म पक्राउ गरेको अवस्था छैन । उहाँ खोजीको सूचीमै हुनुहुन्छ,’– उनले भने ।
प्रहरी प्रवक्ता आचार्यले दुर्गा प्रसाईँको देशभर खोजी भइरहेको उनी कतैपनि अहिलेसम्म फेला नपरेको बताए । उनले भारतमा गएर प्रसाईँलाई पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई नरहेको र उनी भारतबाट पक्राउ परेको भन्ने सूचनामा सत्यता नरहेको तबाएका हुन् ।
प्रसाईँले भारतको आसाममा आत्मसमर्पण गरेको भनिएकोमा पनि आफूहरुलाई कुनै आधिकारिक सूचना नआएको बताए । यदि प्रसाई देश बाहिर पक्राउ परेको खण्डमा पक्रिया पूरा गरेर नेपाल ल्याउन सकिने उनले बताए ।
गत चैत १५ गते राजावादी समूहले आह्वान गरेको आमसभा हिंसात्मक बनेको थियो । उक्त आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । राजातन्त्र पुनर्स्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले प्रसाईँलाई सो घटनामा जनकमाण्डर बनाएर पठाएको थियो ।




प्रतिक्रिया