लोकतन्त्र र गणतन्त्रका लागि लडेका राजनीतिक दलबीच फेरि सहकार्य आवश्यक छः चित्रबहादुर केसी


काठमाडौं, २९ चैत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका राजनीतिक दलहरुबीच फेरि पनि सहकार्यको आवश्यकता बढेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सडकमा आएको बताएका हुन् । राष्ट्रिय जनमोर्चा लोकतन्त्र र गणतन्त्र जोगाउनुपर्छ, तर संघीयता खारेजी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । संघीयता देशले थेग्न सक्दैन भनेर जनमोर्चाले संविधान सभादेखि नै भन्दै आएको उनले बताए ।

‘राष्ट्रिय जनमोर्चाको आन्दोलन गणतन्त्रलाई जोगाउने, लोकतन्त्रलाई जोगाउने, संघीयता खारेज गर्ने हो । संघीयतालाई हटाएर प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा सार्वभौमसत्ता सम्पन्न जनतालाई स्थानीय निकायमा अधिकार दिनुपर्छ । प्रदेश हटाउनुपर्छ । प्रदेश अत्यन्त खर्चिलो भयो भन्ने हो । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी आज भनेको होइन । संविधान सभाबाट संविधान बनाउँदादेखि नै भनिरहेको छ । अहिले पनि राष्ट्रिय जनमोर्चालाई चिन्ता के छ भने नेपाली जनताले सयौं वर्ष लगाएर लडेर ल्याएको लोकतन्त्र, गणतन्त्रलाई समाप्त पार्नको लागि देशी विदेशी शक्तिहरु प्रतिवद्ध छन् । लोकतन्त्र र गणतन्त्रका लागि लडेका राजनीतिक पार्टीहरुले आफ्ना बीचमा जतिसुकै मतभेद भएपनि लोकतन्त्र, गणतन्त्र जोगाउनका लागि फेरि पनि सहकार्य गर्नु आवश्यक छ भन्ने भनाइ राष्ट्रिय जनमोर्चाको भनाइ हो,’– उनले भने ।

लोकतन्त्रवादी, गणतन्त्रवादीहरुको विगतको कमीकमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई फाइदा उठाउन खोजिरहेको अध्यक्ष केसीले बताए । प्रतिगामी शक्तिहरुको विरुद्धमा गणतन्त्रवादीहरु एकजुट हुनु र आफ्ना कमीकमजोरीहरु सुधार गरेर सच्चिनुको विकल्प नरहेको उनले बताए ।