आसनग्रहण अस्वीकार गरेको भन्दै सचिव आचार्यलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरणः ‘तपाईलाई किन कारबाही नगर्ने ?’


काठमाडौं, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । जलस्रोत तथा सिचाइ विभाग, जावलाखेल ललितपुरले गत चैत २५ गते आयोजना गरेको सिचाई दिवस एवं ७२ औवार्षिक उत्सवको कार्यक्रमको आसनग्रहणको विषयलाई लिएर उनलाई स्पष्टीकरण सोधिएको छ । उक्त कार्यक्रममा आसनग्रहणका लागि बोलाउँदा मञ्चमा सहभागी नभई बेवास्ता गरेर बाहिरिएको, विभागका महानिर्देशक सजिव बरालले पटक–पटक आसनग्रहणको लागि आग्रह गर्दा राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको जवाफ दिएको र पदीय मर्यादा पालना नगरेको भन्दै उनीमाथि स्पष्टीरण सोधिएको छ ।

‘आसनग्रहणको लागि बोलाउँदासमेत मञ्मा सहभागी नभई बेवास्ता गरी बाहिरिएको, साथै विभागका महानिर्देशक सजिव बरालले पटक–पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमासमेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरि कार्यक्रम बहिष्कार गरेको तपाईलाई अनुशासनको कार्बाही किन गर्नुनपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्रालयलले पटक–पटक स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाएको विवाद सेलाउन नपाउँदै अर्को विवाद सुरु भएको छ ।