पार्टीभित्र चर्को अन्तरविरोधको सङ्केत गर्दै ओलीले भने,‘एमालेलाई केपी ओलीविनाको बनाउँछु भन्नेहरू सफल हुँदैनन्’


काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई केपी ओलीविनाको बनाउँछु भन्नेहरु सफल नहुने बताएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सिध्याउँछु र केपी ओलीविनाको बनाउँछु भन्नेहरु सफल नहुने बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा ‘कमव्याक’ हुन ‘वार्मअप’ गरिरहेको गाइँगुईँ चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्,’– प्रधानमन्त्री ओलीले भने ।

साथै, उनले आफ्नो जीवनकालपछि एमालेमा आफूभन्दा बलवान नेताहरू पार्टीमा आउने पनि बताए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरू भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ भन्ने पक्षमा छन् । उनीहरू जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । कुनै समय ओलीको सबैभन्दा निकट मानिने नेताहरु गोकुलप्रसाद बाँस्कोटा र कर्ण थापासमेत भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढ भएर उभिएका छन् ।

पार्टीको आन्तरिक राजनीतिमा सङ्कटको संकेत गर्दै ओलीले आफूविनाको एमाले सम्भव नरहेको बताएका हुन् । यता नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई उपाध्यक्ष बनाएसँगै पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्किन सहज भएको धेरैको अनुमान छ । पार्टीको आगामी ११औं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्नेगरी भण्डारीले तयारी गरिरहेको राजनीतिक बृत्तमा अनुमान छ ।