शिक्षकहरुको माग सम्बोधनबारे सरकारलाई गगनको सुझावः केही दिनमै संसद् अधिवेशन बोलाउनेदेखि मन्त्रिपरिषद्बाट तत्काल सम्बोधन गर्नेसम्म


काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकहरुको माग सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् । महामन्त्री थापाले भिडिओ सन्देश सार्वजनिक गर्दै शिक्षकहरुको धेरैजसो माग मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको निर्णयबाट सम्बोधन गर्न सकिने बताएका हुन् । महामन्त्री थापाले तत्काल संसद् बैठक आह्वान गरेर शिक्षा ऐन पनि तत्काल जारी गर्न सकिने बताए । ‘शिक्षक साथीहरुले राख्नुभएका कुराहरु, जुन कानुन नबनाइकन हल गर्न सकिन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर । करिब १५ वटा विषयहरु छन्,’– उनले भने ।

शिक्षकहरुको मर्यादाक्रम, स्वास्थ्योपचार, सामाजिक सुरक्षा, प्राविधिक ग्रेड, दरबन्दी मिलान, शिक्षक विद्यार्थी अनुपात, ईसिडी पढाउनेहरुको तलब, विद्यालय कर्मचारी, राहत शिक्षक, विरामी विदा सञ्चितीलगायतका मागहरु सम्बोधन गर्न ऐनको आवश्यकता नै नपर्ने उनले बताए । यी विषयहरुको सम्बोधन मन्त्रिरिषद् र सम्बन्धित मन्त्रालयको निर्णयबाट नै हुने गगनले बताए । ‘यसका निम्ति केही कुरिराख्न पर्दैन । यो गर्नुपर्ने छ । केही स्रोत साधनको आवश्यकता पर्छ । यसलाई हामीले जुटाउनुपर्छ । आजै कतिपय कुराहरु मन्त्रिपरिषद्ले निर्णय गरेर र कतिपय कुराहरु मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरु छन् । यो कामहरु तत्काल गरौं,’– महामन्त्री थापाले भनेका छन् ।

त्यस्तै, केही दिनमै संसद् अधिवेशन सुरु गर्न पनि उनले सरकारलाई सुझाव दिएका छन् । उनले विधेयकको अन्तरवस्तुका सम्बन्धमा शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमति र सांसदहरुको मत पनि समावेश गरी संसद् सुरु भएको पाँच/छ दिनमै शिक्षा विधेयक पारित गर्न सकिने गगनको मत छ ।

‘कानुन संसद्ले बनाउने हो । सरकारले मात्रै सबै कुरा भनेर हुँदैन । केही दिनपछि हाम्रो संसद्को अधिवेशन प्रारम्भ गर्नेपर्छ । सरकारले अहिले नै संसद् बैठकको मिति तोकेर राष्ट्रपतिबाट आह्वान गरे भइहाल्यो । विधेयकको अन्तरवस्तुका सम्बन्धमा शिक्षक महासंघसँग सरकारको समझदारी भएको छ । मुलतः समझदारीलगायत कतिपय हाम्रा मतहरु पनि छन् । यी कुराहरुलाई पनि समेटेर हामीले फास्ट ट्रयाकबाट विधेयकलाई टुङ्ग्याउने, विधेयक टुङ्ग्याएर संसद् सुरु भएको पाँच/छ दिनमा पारित गर्न सक्छौं । यसरी गरियो भने शिक्षक साथीहरुलाई भरोसा हुन्छ, त्यो भरोसा लिएर उहाँहरु फर्किन सक्नुहुन्छ,’– उनले भने । File Photo/RN