निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्दछ : शंकर पोख्रेल


काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्ने र समृद्धिको यात्रामा बाधा पुर्याउने बताएका छन् । उनले समाजमा उत्पन्न सबैखाले असन्तोषलाई निराशा र कुण्ठामा नभएर संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्नुपर्ने बताएका छन् । पछिल्लो समय महासचिव पोख्रेल सामाजिक सञ्जालमा एकदमै सक्रिय छन् । उनी राष्ट्रिय राजनीतिको विषयमा सञ्जालमार्फत नै आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

हिजो एमालेले धनगढीमा आयोजना गरेको जागरणसभामा पोख्रेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने लागिरहेको छ भने त्यो सम्भव नभएको स्पष्ट पारेका थिए । उनले देशलाई पछाडि धकेल्ने गरी पूर्व राजाका नाममा भइरहेका गतिविधिको कुनै अर्थ नभएको पनि बताएका थिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा उत्पात मच्चाउने, हिंसात्मक घटनाको योजनाकार पूर्व राजाले जनकमान्डर बनाएका दुर्गा प्रसाईं रहेका र उनलाई पक्राउ गरेर प्रहरीले कानुनको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै हिंसात्मक गतिविधिको प्रतिकार गर्न सबैलाई आह्वान समेत गरेका छन् ।