भ्रष्टाचार अन्त्य गर्न र विकासका कामलाई तिव्रता दिन यो सरकार बनेको हो, गठबन्धन टुट्दैन : भट्टराई


ताप्लेजुङ, ३० चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले वर्तमान सत्ता समीकरण पुरै समय जाने दाबी गरेका छन् । हिजो (शुक्रबार) ताप्लेजुङमा प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले अहिलेको गठबन्धन बीचमा नै टुट्छ कि भन्ने द्विविधामा नपर्न आग्रह गरे । ‘यो गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म जाने छ, यसमा कुनै द्विविधा छैन’, उनले भने ।

केही राजनीतिक दलका नेताहरूले गठबन्धन टुटाउन सकिन्छ कि भन्ने प्रयास गरेका भए पनि त्यो सम्भव नभएको उनले बताए । देशको अस्थिरतालाई स्थिरतातिर लैजान र सुशासन कायम गर्न, भ्रष्टाचारलाई अन्त्य गर्दै विकास निर्माणको कामलाई तीब्रता दिने उद्देश्य राखेर यो गठबन्धन बनेको उनको दाबी छ ।

पछिल्लो समय भएका अराजनीतिक गतिविधि निन्दनीय भएको बताउँदै सचिव भट्टराईले मुख्य राजनीतिक दलको अगुवाइमा जुन व्यवस्था कायम भएको छ, त्यसमा भएका कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ भन्ने कुरामा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरू स्पष्ट रहेको धारणा राखे । व्यक्तिगत र सरकारी सम्पत्ति तोडफोड गर्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, मानिसलाई ज्युँदै जलाउने कार्य आतङ्ककारी कार्य भएको हुँदा एमालेले यसका विरुद्ध ठाउँ ठाउँमा जागरण सभा गरिरहेको उनले बताए ।