राजतन्त्र फर्काउने सपना नदेख्न एमाले नेताहरूको धनगढीबाट चेतावनी, कसले के भने ?


धनगढी, ३० चैत्र । नेकपा (एमाले)का शीर्ष नेताहरूले इतिहास भइसकेको राजतन्त्र फर्काउने सपना नदेख्न प्रतिगमनकारीहरूलाई चेतावनी दिएका छन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले गणतन्त्रको पक्षमा हिजो (शुक्रबार) धनगढीमा आयोजना गरेको जनसचेतना सभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट लगायतका नेताहरूले यस्तो चेतावनी दिएका हुन् ।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले राजा फकाउँछौँ भन्नु र वीरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै कुरा भएको र त्यसको कुनै सम्भावना नरहेको बताए । उनले राजाको शासन र जनताको शासन बीच तुलना गर्न आग्रह गर्दै राजाले जनतामाथि दमन बाहेक केही नगरेको बताए । ज्ञवालीले पूर्व राजाले जनभावना विपरीत बोलेर देशमा अराजकता मच्चाउन खोजेको भन्दै जनमतको कदर गर्न आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने लागिरहेको छ भने त्यो सम्भव छैन भने । उनले देशलाई पछाडि धकेल्ने गरी पूर्व राजाका नाममा भइरहेका गतिविधिको कुनै अर्थ नभएको पनि बताए । चैत १५ गते काठमाडौंको तीनकुनेमा उत्पात मच्चाउने, हिंसात्मक घटनाको योजनाकार पूर्व राजाले जनकमान्डर बनाएका दुर्गा प्रसाईं रहेका र उनलाई पक्राउ गरेर प्रहरीले कानुनको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै हिंसात्मक गतिविधिको प्रतिकार गर्न सबैलाई आह्वान समेत गरे ।

महासचिव पोखरेलले विगतमा देशमा सङ्कट आएको बेला एमाले–कांग्रेस एक भएको स्मरण गर्दै अहिले गणतन्त्रको रक्षा पनि दुई पार्टीको मुख्य जिम्मेवारी भएको बताए । गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए । महासचिव पोखरेलले भने–‘पञ्चायतको समयमा धनी र गरिबको खाडल २३ गुणा थियो, अहिले त्यो ८ गुणामा झरेको छ ।’

मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुुपर्ने भनाइ राख्दै महासचिव पोखरेलले अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएकाले त्यसमाथि विजयी हासिल गर्नुपर्ने बताए । लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माणका कामका साथै नागरिकको जीवनस्तरमा परिवर्तन आएको चर्चा गर्दै उनले तथ्यमा रहेर बहस गर्न जरुरी रहेको बताए ।

पोखरेलले लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक पूर्वाधार तथा मानव विकासमा आएको परिवर्तन र उल्लेख्य सुधारको सूचक प्रस्तुत गरे । उनले सुदूपश्चिममा बिकासको गति अघि बढेको उल्लेख गर्दै गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरण्मा रहेको बताए । मुलुकमा राजनीतिक स्थायित्व आवश्यक रहेको र त्यो स्थायित्व कायम गर्ने सामथ्र्य एमालेसँग मात्र भएको बताउँदै महासचिव पोखरेलले मिसन–८४ ले आगामी निर्वाचनमा एमालेलाई एकल बहुुमतको सरकार बनाउने सामथ्र्य निर्माण गर्ने विश्वास व्यक्त गरे। सभालाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।