काठमाडौं, ३० चैत । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले तीनकुनेको हिंसात्मक घटनाको योजनाकारको रुपमा चिनिएका दुर्गा प्रसाईँलाई प्रहरीले भारतबाट पक्राउ गरेको बताएका छन् । नेपाल प्रहरीले भने प्रसाईँलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको भन्दै विज्ञप्ति जारी गरेको थियो । आज (शनिबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सुरक्षा निकाय खोज्दै गएर भारतीय सुरक्षा निकायको सहयोगमा प्रसाईँलाई पक्राउ गरिएको बताएका हुन् ।
त्यस्तै, प्रसाईँले कतै भाग्दिनँ भने विदेशी घ्याम्पोभित्र लुकेको उनले टिप्पणी गरे । महासचिव पोख्रेलले भने, ‘बैंकको ऋण तिर्न पर्दैन भनेर अभियान चलाए । म त एकदम साहसी, बहादुर मान्छे, म कतै भाग्दिँन भने, सुईँकुचा ठोकेर आसामतिर गएको फेला पर्यो । कुरा सुन्दा त उनी दोस्रो जंगबहादुर बन्छन् जस्तो लागेको थियो । तर, घ्याम्पोभित्रै पो लुकेछन् । घ्याम्पो पनि देशभित्रको घ्याम्पो होइन, विदेशको । जब हाम्रो सुरक्षा निकायले खोज्दैखोज्दै गएर फेला पार्यो र भारतीय सुरक्षा निकायको सहयोगमा समात्ने काम गर्यो, म आफैं उपस्थित भएको भनेर चाहीँ भन्न सक्दा रहेछन् । कति ढाँट्न जानेका ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया