काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषको रुपमा चर्चित सुरेश चन्द्र रिजालले यो वर्ष (२०८२) सूर्य ग्रह राजाको रुपमा रहेकाले सूर्य चुनाव चिन्ह अङ्कित दलालाई एकदमै अप्ठ्यारो परिस्थिति आउने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राष्ट्रिय सहमतिको सरकार गठन गर्न उचित हुने बताएका हुन् ।
‘यो वर्ष राजाको रुपमा सूर्य ग्रह रहँदै गर्दाखेरी सूर्यको संकेत अङ्कित गरेर जसले राजनीति गर्नुभएको छ, जो राजनीतिमा हुनुहुन्छ, उहाँको लागि एकदमै अप्ठ्यारो परिस्थिति आउन सक्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले जतिसक्दो चाँडो राष्ट्रिय सहमतिको सरकार गठनको आह्वान गरेर संविधान संशोधनमा गएर देशलाई निकास दिन आग्रह गर्न चाहन्छु,’– उनले भने ।
साथै, यो वर्ष जनताको लागि सुखद रहेको, तर राजनीतिक दल र राजनीतिककर्मीहरुको लागि भने दुःखदु हुनेवाला रहेको उनको दाबी छ । दलहरु जनताको घेराबन्दीमा पर्ने संकेत देखिएको उनले बताए । राजनीतिक दलहरु सच्चिएर राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुने उनको सुझाव छ ।
‘शेरबहादुर देउवाज्यूको जुन राशी, कुण्डली छ, उहाँ वचनमा पक्का हुनुहुन्छ । त्यो आफ्नो ठाउँमा छ, हरेक व्यक्तिले आफूले बोलेको वचन पूरा गर्नुपर्छ । तर, पनि कस्तो संकेत देखियो भने २०८२ आम जनताको लागि सुखद हुने देखिएको छ । राजनीतिमा लागेका व्यक्ति र दलहरु चाहीँ ग्रहहरुको घेराबन्दीमा पर्न सक्ने देखिएको छ । ग्रहहरुले दलहरुलाई घेराबन्दीमा राख्ने कारणले जनताको कारणले आएको चिज जनताले घेराबन्दीमा पार्न खोज्यो भने कस्तो हुन्छ ? मेरो आग्रह त राष्ट्रिय सहमतिको सरकार हो,’– उनले भने ।




प्रतिक्रिया