काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले शिक्षकहरु आन्दोलनमा उत्रिएको १४ दिन बितिसक्दा पनि सरकार गम्भीर नभएको बताएका छन् । उनले शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले कमजोरीको रुपमा हेरेको खण्डमा ठूलो भूल हुने बताएका छन् । आन्दोलन लम्बिँदै जाँदा शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।
सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे कांग्रेसले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानको लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्न नहुने उनले बताएका छन् । ‘शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेर्नु ठूलो भूल हुनेछ । यो आन्दोलन जति लम्बिँदैछ, शैक्षिक क्षेत्रले त्यति नै ठूलो क्षती व्यहोर्नुपर्ने छ,’– उनले भनेका छन् ।
महासंघको आह्वानमा देशभरीका शिक्षकहरु गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हडताल घोषणा गरेका छन् । महासंघले एसईईको उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदमसमेत चालिसकेको छ ।




प्रतिक्रिया