ओली सरकार ढल्न सक्नेगरी राजनीतिक खिचडी पाकिरहेको जेपी गुप्ताको टिप्पणी, देउवाको स्टेटमेन्ट ‘खतराको घण्टी’ (भिडिओसहित)


काठमाडौं, ३ बैशाख । पूर्वमन्त्री जेपी गुप्ताले राजनीतिक दलहरुको असक्षमताको कारण उत्पन्न भएको आम जनताको वितृष्णाको फाइदा पूर्वराजा ज्ञानेन्द्र शाहले लिन खोजेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्नसक्ने राजनीतिक खिचडी पाकिरहेको उनको भनाई छ ।

आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले काठमाडौंको करिडोरमा केही हुँदैछ भन्ने सुनिएको सुनाए । सरकार ढाल्ने वा बनाउने खेलले फेरि पनि गणतन्त्र नै कमजोर हुने उनको दाबी छ । उनले अहिले प्रादेशिक संरचनाको बारेमा आम जनतामा ठूलो असन्तुष्टि रहेको आफूले पाएको बताए ।

उनले आफूपनि संघीयता ल्याउनको लागि संघर्ष गर्ने नेतामै पर्ने भएपनि अहिलेको व्यवहारले प्रादेशिक संरचना चल्न नसक्ने सुनाए । तर, आफूले यसमा ठूलो सुधारको अपेक्षा राखेको पनि उनको भनाई । उनले जनता अहिले हिन्दूराष्ट्रको पक्षमा रहेको भन्दै त्यसबारेमा सकारात्मक सोचाई राख्नु नै हितकर हुने आफ्नो मत राखे ।

उनले नेपालमा अहिले पूर्वराजा ज्ञानेन्द्र शाह र राजनीतिक दलहरु मिलेर जाने परिस्थिति आफूले नदेखेको दाबी गरे । उनले भने,‘राजसंस्थाको पुनःप्रादुर्भावको बारेमा नेपाली कांग्रेस, एमाले र माओवादी तीनै वटा पार्टीले बारम्बार आफ्नो धारणा ल्याएका छन् । खासगरी राजसंस्थाको पुनःप्रादुर्भाव भनेको त प्रचण्डको टोटल पोलिटिक एजेण्डा समाप्त भएर जानु हो । त्यसपछि प्रचण्ड कहीँ टिक्दै टिक्दैनन् । जबकी अहिलेको कुनैपनि समकिरण बन्नको लागि प्रचण्डको की–रोल छ । अहिले एउटा चर्चा सुरु भएको छ, सायद ओलीको सत्ता चेञ्ज होला । तर, ओलीको सत्ता चेञ्ज गर्ने खेलमा यसमा प्रचण्डलाई माईनस गरेर यसको परिकल्पना गर्न सक्नुहुन्छ र ?’

उनले शेरबहादुर देउवाले ‘आफूले प्रचण्डसँग हुँदा ओलीलाई नभेटेको र अहिले ओलीसँग हुँदा प्रचण्डलाई नभेट्ने’ भनेर दिएको अभिव्यक्तिलाई फनी स्टेटमेन्टको संज्ञा दिएका छन् । तर, देउवाको उक्त स्टेटमेन्टलाई आफूले खतराको घण्टीको रुपमा लिएको पनि गुप्ताको भनाई छ ।