सरकार सञ्चालन र नियुक्तिमा सन्तुलन नहुँदा असन्तुष्टि बढेको कांग्रेस प्रवक्ताको स्वीकारोक्ति, गभर्नर पेण्डिङ राख्न नहुने


काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आफूहरुलाई वर्तमान सरकारले जति गर्न सक्ने हो, त्यति नगरेको अनुभूति भइरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले थप मेहनतको साथ काम गर्नुपर्ने बताएका हुन् । सरकारले नियुक्ति प्रक्रियामा दलीय आस्थालाई धेरै महत्व दिएर प्रश्न उठ्ने ठाउँ राख्न नहुने उनको सुझाव छ ।

‘यो सरकारले गति गर्न सक्छ, त्यति नगरेको अनुभूति अवश्य पनि भएको छ । त्यसकारण थप मेहनतको साथ काम गर्नुपर्यो । नियुक्ति प्रक्रियामा दलीय आस्थालाई अत्याधिक महत्व दिएर निर्णय अन्यौलमा पर्नुभएन । त्यसमा सन्तुलन आउनुपर्यो । कसैले पनि प्रश्न गर्न नसक्ने मान्छेहरु नियुक्ति हुनुपर्यो भन्ने कुराहरु छन्,’– उनले भने ।

कांग्रेस प्रवक्ता महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई धेरै पेण्डिङ राख्न नहुने बताए । यसले राम्रो सन्देश नजाने उनको उनको भनाइ छ । अबको गभर्नर अनुभवी र मौद्रिक नीतिलाई राम्रो दिशा दिन सक्ने व्यक्तिलाई बनाइनुपर्ने उनको भनाइ छ । उनले सरकारप्रति कांग्रेसीहरुको असन्तुष्टि रहेको कुरा स्वीकार गरे । सरकार सञ्चालन, नियुक्तिलगायतका कुरामा सन्तुलन हुनुपर्ने, जनताको आवश्यकता र समस्याप्रति सरकार थप संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

‘अवश्य पनि असन्तुष्टिहरु छन् । सरकारले अझ सशक्त ढंगबाट काम गर्नुपर्छ । पारदर्शिता सुनिश्चित गर्नुपर्छ । सरकार सञ्चालनमा सन्तुलन हुनुपर्छ । नियुक्तिहरुमा सन्तुलन हुनुपर्छ,’– उनले भने ।