काठमाडौं, ३ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भाइरल हुने नाममा सरकारको विरुद्ध नबोल्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई सुझाव दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको जिम्मेवारीमा रहेकाहरुले पपुलिस्ट र भाइरल हुने नामम बोल्न नहुने बताए ।
कांग्रेस महामन्त्री थापाले हिजो पार्टीको एक कार्यक्रममा विचौलियाहरको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको बताएका थिए । महामन्त्री थापाको उक्त आरोपको खण्डन गर्दै नेता बर्तौलाले भने, ‘लोकतन्त्रको उपभोग सबैले गर्न पाउँछन् । सरकार राम्रोसँग अगाडि बढेहुन्थ्यो, यसले राम्रो गति लिइदिए हुन्थ्यो भन्नेगरीको चाहना हुने कुरा अस्वभाविक होइन । तर, एउटा कुरा चाहीँ के भने– कतिपय शीर्षस्थ नेताहरु यो सरकार सञ्चालनको महत्वपूर्ण जिम्मेवारीमै बस्नु भएको छ । जिम्मेवारीमा रहेका साथीहरुले, नेताहरुले कतिसम्म पपुलिस्ट बन्ने, अब भाइरल कतिसम्म बन्ने भन्ने कुरा हेक्का राख्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’
नेता बर्तौलाले वर्तमान सत्ता गठबन्धन ढल्नेमा कुनै सत्यता नरहेको बताए । कांग्रेस–एमालेले संस्थागत निर्णय गरेर बनेको सरकार एक÷दुई जना मान्छेले चाहँदैमा नढल्ने उनको भनाइ छ । ‘कांग्रेस र एमाले संसद्का दुई ठूला राजनीतिक शक्तिहरु हुन् । हामीले संस्थागत निर्णय गरेर यो सत्ता सहयात्रा प्रारम्भ गरेका हौं । त्यस कारणले गर्दा एकाध कोही मान्छेहरुले चाहना गर्दैमा यो सरकार ढलिहाल्छ भन्ने जो सोचिरहनु भएको छ, बाहिर हल्ला जे फिँजाउन खोजिएको छ, त्यसमा कुनै सत्यता छैन,’– उनले भने ।




प्रतिक्रिया