काठमाडौं, ४ वैशाख । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले योजना बेचेको भनेर आफूमाथि निराधार आरोप लगाइएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै पनि योजना दिनका लागि १० प्रतिशत कमिशन मागेको भनेर कुप्रचार गरिएको बताएका हुन् । उनले आफू मन्त्री भएपछि निकै उत्कृष्ट काम गरिरहेको उनले बताए । आफूमाथि लागेको आरोप प्रमाणित गर्न उनले चुनौती दिए ।
‘म भौतिक पूर्वाधार विकास मन्त्री भइसकेपछि सात वर्षको प्रदेश सभाको इतिहासमा पहिलो चोटी मैले प्रतिनिधित्व गर्ने मन्त्रालयबाट मैले झण्डै १७ अर्ब रुपैयाँको टेण्डर गरेको छु । त्यो के चुनौती होईन अरुको लागि ? म मन्त्री भइसकेपछि एक निर्वाचन क्षेत्रमा एक सडक भनेर प्रति निर्वाचन क्षेत्रमा, मधेशमा रहेका ६४ वटा निर्वाचन क्षेत्रमा १५ करोड रुपैयाँको दरले ६४ वटा सडकको टेण्डर गरेँ,’– उनले भने ।
एमाले मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवले आफूहरु सरकारमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल रहेको कारण जस अपजस सबै जिम्मेवारी दिने बताए । मधेशमा सुराकी भत्ताको रुपमा ठूलो भ्रष्टाचार भएको उनले बताए । अहिले प्रतिपक्षमा रहेका माओवादी संसदीय दलका नेता भरत साह यसअघि गृह, सञ्चार तथा कानुनमन्त्री हुँदा २६ लाख ७० हजार रुपैयाँ सुराकी भत्ता खाएको उनको दाबी छ । ‘२६ लाख ७० हजार रुपैयाँ गर्दै नगरेको सुराकी । कहाँ छ प्रहरी ? प्रहरीमार्फत सुराकी गर्ने हो । मधेश प्रदेशसँग प्रहरी छ । गर्दै नगरेको सुराकी कागज मिलाएर खानुभयो,’– उनले भने ।




प्रतिक्रिया