काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको अभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धको अभियान चलाएको, भूमाफियाहरुलाई कारबाही गरेको र भ्रष्टाचारीलाई संरक्षण नदिएको कारण नै ढलेको बताएका हुन् । आफूले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानलाई छाडिदिएको भए कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सकिने अवस्था त्यतिबेला रहँदा पनि देश र जनताको हितमा जतिदिन रहेपनि राम्रो काम गर्नका लागि जोखिम उठाएको उनले बताए ।
साथै, आफूहरुलाई आगामी २०८४ को निर्वाचनसम्म सरकारमा जान हतार नरहेको पनि प्रचण्डले बताए । प्रचण्डले जनतासँग माओवादी अभियानका क्रममा पनि आफूहरुलाई सरकारमा सहभागी नहुन सुझाव आएको नयाँ दृढताका साथ अब अगाडि बढ्ने बताए । ‘तपाईँहरुलाई लाग्ला सरकारमा जान हतार गरेको होला । विलकूल होइन । हामी त्यो त्रुटी गर्ने पक्षमा छैनौं । तपाईँहरु भन्नुहुन्छ कुर्सी प्राप्तिको लागि जे पनि गर्ने ? होईन, कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भएको भए मेरो कुर्सी जानेवाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थेँ । यदि मैले भ्रष्टाचारको विरुद्धमा चलाएको अभियानलाई छोड्दिएको भए, राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए, यो केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो नेतृत्वको सरकार ढल्नेवाला नै थिएन,’– उनले भने ।
आफूहरुले सरकार र कुर्सी भन्दा पनि सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति माओवादीले नै लडाइँ छेड्नुपर्छ भनेर संकल्प गरेर काम गरेको उनले बताए । सरकारमा हुँदा पनि माओवादीले लडाईँ छेडेको र अहिले प्रतिपक्षमा रहँदा पनि लडाइँ जारी नै रहेको उनले बताए ।




प्रतिक्रिया