काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पर्फर्मेन्स शून्य अवस्थामा रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले सरकारको गियर परिवर्तन गर्नु त परको कुरा गाडी स्टार्ट नै गर्न नसकेको बताएका हुन् । सरकारले काम गर्न नसकेकै कारण अहिले सबै जनता सडकमा आउने परिस्थिति बनिरहेको उनले बताए ।
‘सरकारको पर्फर्मेन्स चाहीँ भएन । गाडी स्टार्ट नै नभएको जस्तो भयो । गियर लगाएर चलाउने कुरा छोड्नुस्, कमसेकम स्टार्ट त गर्नुपर्यो । जनतामा यत्रो निराशा छ । कसैको केही पर्फर्मेन्स छैन । जनता सबै सडकमा आउने अवस्था छ । कमसेकम सरकार छ भन्ने अनुभूति दिन सक्नुपर्थ्यो । त्यो नदिएकोमा जनतामा आक्रोश छ,’– उनले भने ।
नेता खतिवडाले ९ महिनाको अवधिमा प्रधानमन्त्रीलगायत कुनै पनि मन्त्रीले काम गर्न नसकेको बताए । महँगी बढ्दा उद्योगमन्त्री चुपचाप बसेको, पर्यटन व्यवसाय पनि चौपट भइरहेको अवस्थामा प्रधानमन्त्री र अन्य मन्त्रीहरु भने आनन्दले मीठो बोलेर हिँडेको उनले बताए । बोलेरमात्रै परिवर्तन नहुने बताउँदै उनले काम गरेर देखाउन आग्रह गरे । अहिले सरकार गिरिहाल्ने अवस्था भने नरहेको उनको भनाइ छ । FIle Photo/RN




प्रतिक्रिया