सत्ता गठबन्धन दलबीच समन्वय र सन्तुलन नरहेको कांग्रेसको निष्कर्ष, नियुक्तिमा पनि उठ्यो प्रश्न


काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको संयुक्त बैठकले सत्ता गठबन्धन दलबीच समन्वय र सन्तुलनको अभाव रहेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा कांग्रेसको आकस्मिक बैठक बसेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘सरकारको सम्बन्धमा समग्रमा सरकारको पर्फर्मेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दलबीच समन्वय हुनुपर्यो, सन्तुलन हुनुपर्यो भन्ने कुराहरु र अझ सशक्त रुपमा सरकारले डेलिभरी दिन सक्नुपर्छ र तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभयो । त्यो सम्बन्धमा नेतृत्व तहले निरन्तर कुराकानी पनि गरिराखेका छौं र जहाँ सुधार र थप समन्वयको आवश्यकता छ, त्यो कुरा हुन्छ । गर्नुपर्छ भन्ने नै कुरा भएको छ ।’

बैठकमा शिक्षक आन्दोलन, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको केन्द्रीय समिति बैठकमा लानुपर्ने एजेण्डाको बारेमा छलफल भएको पनि प्रवक्ता महतले बताए । त्यस्तै, बैठकले सरकारको विरुद्धमा सार्वजनिक रुपमा नबोल्न र असन्तुष्टिहरु पार्टीको बैठक वा संयन्त्रको बैठकमा राख्नसमेत आग्रह गरेको छ ।

पार्टी महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मातर्फ लक्षित गर्दै प्रवक्ता महतले भने, ‘यो विषयमा त मैले नै भन्दै आएको थिएँ । हामीले बाहिर राख्नुभन्दा सम्बन्धित संरचनामै राख्नुपर्यो । त्यहाँबाट आएको निष्कर्षको आधारमा बाहिर बोल्नुपर्ने या नपर्ने भनेर मैले राखेको थिएँ । त्यस विषयमा उहाँहरुले आफ्नो राख्नुभयो । कतिपय कुराहरुलाई यसरी जानुपर्छ भनेर आएको छ । हामीले भनेको कुरामा उहाँहरुले महशुस पनि गर्नुभएको छ ।’ File Photo/RN