वीरगञ्जमा भएको साम्प्रदायिक घटनाका दोषीलाई कारबाही गर्न विभिन्न मुस्लिम संघ/संगठनहरुको माग


काठमाडौं, ४ वैशाख । इस्लामी संघ नेपाल, मुस्लिम इतिहास संगठन नेपाल, मुस्लिम महिला कल्याण समाजलगायतका संघ/संस्थाहरुले विरगञ्जमा भएको साम्प्रदायिक घटनाप्रति गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले वीरगञ्जको उक्त घटनालाई उनीहरुले मुस्लिम समुदायको सद्भाव, राष्ट्र प्रेम र शान्तिकामी छवि धमिल्याउने प्रयासको संज्ञा दिएका छन् । यस्ता प्रकारको घटना गत वर्ष पनि सर्लाही, नेपालगञ्जलगायतका स्थानमा भएको र अहिले वीरगञ्जमा भएको घटना एउटा श्रृङ्खला मात्रै रहेको मुस्लिम समुदायको बुझाइ छ ।

हिन्दु धर्मालम्बीहरुले हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा आयोजना गरेका थिए । उक्त शोभा यात्रा जामा मस्जिदअगाडि पुगेपछि झडप भएको थियो । झन्डै १५ हजार मानिसहरू शान्तिपूर्ण ढंगले शोभा यात्र गरिरहेकोमा मस्जिदबाट आफूहरूमाथि ढुंगा प्रहार भएको भन्दै मस्जिदतर्फ ढुंगामुढा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश नै जारी गरेको थियो ।

उनीहरुले वीरगञ्जमा भएको घटना सङ्गठित अपराध भनेका छन् । वीरगञ्जमा आँखै अगाडि त्यस्तो प्रकारको घटना भइरहँदा पनि प्रहरी प्रशासन मूकदर्शक भएर बसेको उनीहरुको आरोप छ । स्थिति गम्भीर भएपछि जिल्ला प्रशासन कार्यालयले निपेधाज्ञा जारी गरेर स्थितिलाई नियन्त्रणमा लिएको, स्थिति बिग्रने कुरामा प्रहरी प्रशासनको मौनताले ठूलो भूमिका निर्वाह गरेको उनीहरुको ठहर छ ।

उक्त घटनाले वीरगञ्ज मात्र नभएर देशभरका मुस्लिम समुदाय त्रसित रहेको उनीहरुले बताएका छन् । उक्त घटनाले लोकतन्त्रको अवमूल्यन र मानवअधिकार तथा संविधानप्रदत्त मौलिक हकको हनन भएको मुश्लिम समुदायको निष्कर्ष छ । अल्पसङ्ख्यक समुदायमाथि पटक–पटक आक्रमण हुनु घोर आपत्तिजनक रहेको उनीहरुले बताएका छन् ।

‘वीरगञ्जमा हनुमान जयन्तलिगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यसपटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम वस्तीमा आतङ्क फैलाउन खोज्नु गम्भीर र षड्यन्त्रपूर्ण योजनाको द्यौतक हो । रक्षात्मक रुपमा मुस्लिमहरूले ढुङ्गा फ्याँकेको प्रत्यक्षदर्शी बताउँछन् र उपलब्ध भिडियोहरूमा त्यही देखिएको छ । घटना हुनुभन्दा एक दिन अघिको एउटा स्वाट्सएप ग्रुपको अडियो बाहिरिएको छ जसमा केही अतिवादीहरूले मियाँहरूलाई कुटपीट गर्न सबैले झण्डा र तरवारसमेतका हथियारहरू बोक्नु भन्ने सन्देश दिइएको छ । यसले पनि यो घटना संगठित र योजनावद्ध ढङ्गले भएको हो भन्ने कुरा प्रष्ट छ,’– विभिन्न मुस्लिम संघ संस्थाहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यस किसिमका अपराध गर्नेहरूलाई पटक–पटक छुट दिन नहुने उनीहरुको भनाइ छ । यसरी छुट दिँदै जाने हो भने देशमा अराजकता, हत्या, हिंसा र अशान्ति डढेलोझैँ फैलने कुरा बुझ्न उनीहरुले चेतावनी दिएका छन् । यस किसिमका घटनाहरु पटक पटक दोहोरिरहेको र एउटा लक्षित समुदाय यसको शिकार भइरहेको कानूनी राज्यले मूकदर्शक भएर हेरिरहन नहुने उनीहरुको सुझाव छ । उक्त घटनामा संलग्न जुनसुकै समुदायको व्यक्ति भएपनि अनुसन्धानको दायरामा ल्याइ कानूनी कारबाही गरिनुपर्ने उनहिरुको माग छ ।

पत्रकार सम्मेलनमा इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही, मुस्लिम इतिहास संगठन नेपालका इन्चार्ज तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य ताज मोहम्मद, संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मोहम्मद जाकी हुसेन, नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानलगायतको सहभागिता रहेको थियो ।