काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले चाहँदासम्म वर्तमान सरकार तलमाथि नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको गतिविधिप्रति कांग्रेसका नेताहरुको असन्तुष्टि रहेपनि तत्कालै सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका हुन् । एमालेको मात्रै सरकार छ भनेजस्तोगरी भएका केही गतिविधिको कांग्रेसका नेताहरुले विरोध गरेको उनले बताए ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक हदसम्म सरकारको बारेमा धैर्यता नै गरेको उनले बताए । ‘महामन्त्रीद्वयले सरकारलाई एकहदसम्म सही ट्याकमा लाने प्रयास गरेपनि पछिल्लो एक डेढ हप्तादेखि उहाँहरुले सरकारमाथि दवाब दिनुभएको देखिन्छ । सबै नेताहरुको दवाबले कोर्श करेक्सन होला कि भन्ने देखिन्छ,’– उनले भने ।
साथै, शिक्षकहरुको आन्दोलनलाई कांग्रेसले गम्भीर रुपमा लिएपनि सरकारले यसलाई ख्यालख्यालजस्तो सोचिरहेको उनले बताए । ‘व्यक्तिगत रुपमा भेटेर शिक्षकहरुको आन्दोलनप्रति सबैले ऐक्यवद्धता जनाएकै थियौं । सरकारको तर्फबाट गम्भीर रुपले लिइएको छैन । कांग्रेसले चाहीँ गम्भीर रुपले लिएको छ । तर, पनि दुई÷दुई हप्तासम्म गुरुहरु सडकमा हुँदाखेरी चुप लागेर बस्ने गैरजिम्मेवारीपन सरकारले देखाएको छ । यसमा कांग्रेसले केही दवाब दिएको छ । समस्याको समाधान निस्केला अब,’– उनले भने ।




प्रतिक्रिया