गभर्नर बन्ने पक्कापक्की भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा


काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आज (शुक्रबार) राजीनामा बुझाएका हुन् । उनी गभर्नरमा नियुक्ति हुने निश्चित भएपछि कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग गत बुधबार छलफल गरेका थिए । लामो समयसम्म गभर्नर नियुक्तीको विषय पेचिलो बन्दै गएको अवस्थामा कांग्रेसबाट समेत आलोचना हुन थालेपछि गभर्नर नियुक्ती गर्ने सवालमा मध्यमार्गी बाटो रोज्दै देउवाले प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले स्वीकृति जनाएको बताइएको थियो ।

देउवाले गभर्नरको लागि अर्थशास्त्री डा.भट्टको नाम प्रस्ताव गरेका थिए । भट्टले अर्थशास्त्रमै पिएचडी गरेका छन् । गभर्नरको लागि यसअघि ज्ञानेन्द्र प्रसाद ढुंगाना, निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीलगायतको नाम चर्चामा थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्ती गर्ने बुझिएको छ ।