मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने दलहरुले पूर्वराजाको सन्देश स्वीकार गर्नुको विकल्प छैनः वरिष्ठ अधिवक्ता डा.भण्डारी


काठमाडौ, ५ वैशाख । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको शुभकामना सन्देशको सन्दर्भमा धारणा सार्वजनिक गर्न राजावादीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पूर्वराजा र दलहरुको दृष्टिकोणमा कुनै विमति नरहेको बताएका हुन् ।

‘अहिलेका राजनीतिक दल र नेताहरुलाई पनि अब राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन । त्यसलाई तपाईँहरुले स्वीकार गर्नुको विकल्प छैन । यो मुलुकलाई हामीले अगाडि बढाउने हो भने, मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने, मुलुकलाई शान्तिपूर्ण निकासमा लाने हो भने राजाले डेमोक्रेशीलाई स्वीकार गरिबक्सेको छ, संवैधानिक राजतन्त्रलाई स्वीकार गरिबक्सेको छ । नागरिकहरुको सार्वभौमसत्तालाई स्वीकार गरिवक्सेको छ । नागरिक पनि राजनीतिक शक्तिको स्रोत हुन भनेर स्वीकार गरिबक्सेपछि तपाईँहरुको राजनीतिक दृष्टिकोण र राजाको दृष्टिकोणको पछाडि अब कुनै पनि विमति छैन । राजासँग अब तपाईँहरुले विमति राख्ने ठाउँ सकियो । यदि तपाईँहरुले यो कुरा स्वीकार गर्न सक्नुहुन्न भने तपाईँहरु देशको लागि होइन, आफ्नो स्वार्थका लागि राजनीति गरिराख्नु भएको छ,’– उनले भने ।

नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको सन्देशले मुलुकको रोडम्याप प्रष्ट गरेको उनको दाबी छ । आफू र राजसंस्थाबीच रहेको विमति पनि उक्त सन्देशले समाप्त पारेको उनले बताए । ‘वैशाख १ गते महाराजधिराजबाट जुन सन्देश आयो, त्यो सन्देशले मुलुकको रोडम्याप प्रष्ट अगाडि सारेको छ । राजासँगका मेरो जुन विमति थिए, ती विमतिहरु समाप्त भएका छन् । त्यसैले म अब राजाको यो रोडम्यापलाई म खुला रुपमा साथ दिन्छु । आम नेपाली नागरिकहरुलाई पनि अब राजालाई हामीले साथ दिने बेला आयो । हरेक नेपाली नागरिकले अब राजाको यो सन्देशलाई हृदयंगम गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रत्येक नेपालीमाथि आएको छ,’– उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो भ्रष्टाचार भएको रिपोर्ट प्रतिनिधि सभाको उपसमितिले सार्वजनिक गरिसकेको बताउँदै उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि अभिभावकको खाँचो रहेको बताए । ‘जो मुलुक र जनताप्रति चिन्तित र गम्भीर छ, त्यो संस्था भनेको राजसंस्थामात्रै हो । त्यसैले राजसंस्थाको स्थापना नभई यो मुलुकमा भ्रष्टाचारको अन्त्य हुन सक्दैन,’– उनले भने ।

कार्यक्रममा प्रा.डा. कान्ता पौडेल, नेपाली सेनाका पूर्व कर्णेल जयन्द्रवीर सिंह बस्नेत, दीपक महाराज आत्रेयलगायतले पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको शुभकामना सन्देश र पृथ्वीपथका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।