काठमाडौं, ५ चैत । सर्वोच्च अदालतले अमेरिककाबाट निष्काशनमा परेका चार भुटानी शरणार्थीलाई उनीहरुको इच्छाविपरीत भुटान वा अन्य कुनै पनि देशमा निष्काशन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अमेरिकाले गत चैत ११ गते अशोक गुरूङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई निष्काशन गरेको थियो । निष्काशनमा परेका उनीहरु भुटान, भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीहरु नेपाली भुटानी शरणार्थीको रुपमा दर्ता भई, नेपालमा यसअघि बसोबास गरी तेस्रो मुलुक (अमेरिका) मा पुनर्वास भएका थिए ।
अमेरिकाले निष्काशन गरेर भुटान हुँदै नेपाल आउने क्रममा पक्राउ परेका उनीहरु नेपाल अध्यागमन विभाग कार्यालय मेची नगरपालिका–६ झापामा थुनामा थिए । उनीहरुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकोमा सो रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्याँलको इजलासले उनीहरुको इच्छाविपरीत अन्य देशमा निष्काशन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
‘निजको जीवन खतरामा पर्नेगरी निष्काशन गरी भुटानमा पठाइएको र पुनः भुटानबाट भारत हुँदै नेपालमा पठाइ हाल थुनामा रहेको देखिँदा निजको मातापिता जुन कारणद्वारा भुटानबाट नेपालमा शरणार्थी भइ आएका हुन्, सो परिस्थितिमा परिवर्तन नआएको हुनाले निजहरु आफ्नो उत्पत्तिको देशमा स्वैच्छाले फिर्ता हुन नसकी पुनर्वासमा गएको अवस्थामा हाल नेपाली अध्यागमन अधिकारीबाट निजलाई भुटान अथवा निजले नइच्छाएको देशमा फिर्ता गर्दा ‘यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि–१९८४ को धारा ३ तथा यस अदालतबाट विगतमा भएका निर्णयहरु र नेपाललाई समेत प्रथाजनित कानुनको रुपमा लागू हुने फिर्ता नपठाउने सिद्धान्तको विपरीत हुने देखिँदा यी निवेदकहरुलाई भुटान तथा अन्य कुनै देशमा निष्काशन गर्नु नगराउनु,’– अन्तरिम आदेशमा भनिएको छ ।




प्रतिक्रिया