काठमाडौ, ५ वैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि जारी शिक्षकहरुको काठमाडौं केन्द्रीत आन्दोलनमा नेपाल बुद्धिजीवी संगठन रामेछापले ऐक्यबद्धता जाहेर गरेको छ । आज (शुक्रबार) नेपाल बुद्धिजीवी संगठन रामेछापका अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीले कार्यक्रमस्थलमा पुगेर ऐक्यबद्धता जाहेर गरेको हो ।
शिक्षकहरुको शान्तिपूर्ण र मर्यादीत प्रदर्शन, पेशागत हक हित, लामो समय सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महशुस गरी शिक्षकहरुका मागप्रति ऐक्यबद्धता जाहेर गरिएको नेपाल बुद्धिजीवी संगठन रामेछापका अध्यक्ष श्रेष्ठले बताए ।
‘नेपाल शिक्षक महासंघ र सरकारबीच यसअघि भएका विभिन्न सहमतिको कार्यान्वयनसहित तत्काल शिक्षा ऐन जारी गर्ने प्रबन्ध गरी शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्किन वातावरण तयार गर्नसमेत सरकारको ध्यानकर्षण गराउँदछौं,’– नेपाल बुद्धिजीवी संगठन, रामेछापले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ऐक्यबद्धता कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सचिव भरत गौतम, संगठनका बागमती प्रदेश कार्यसमिति सदस्य दामु ढुङ्गेललगायतको सहभागिता रहेको थियो ।





प्रतिक्रिया