भरतपुरमा रेल आतङ्क, मेयर दाहालले प्रधानमन्त्री ओलीलाई सुनाईन् पीडा


काठमाडौं, ५ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रेल लाइनको विषयलाई लिएर भरतपुरवासीहरु आतङ्कित भएको बताएकी छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडक उद्घाटन कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भरतपुरको बीच भागबाट रेल लाइन जाँदा त्यहाँका जनतालाई धेरै ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको बताएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगर कार्यपालिकाको बैठकले रेल लाइन भरतपुरको बीचबाट नभएर गोन्द्राङदेखि जङ्गल किनाराबाट आँपटारी हुँदै नवलपुर निकाल्ने र अर्को गोलाघाट हुँदै नवलपुर लैजाने दुई वटा विकल्प संघीय सरकारलाई पठाएको बताईन् ।

‘भरतपुरको लागि एउटा असाध्यै चिन्ताको विषय, भरतपुरवासी धेरै आतङ्कित छन् रेल लाइनको विषयलाई लिएर । प्रधानमन्त्रीज्यू हामीले तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठज्यूलाई यो महानगरपालिका पीडितहरुलाई पनि राखेर हामीले अन्तर्क्रिया गरेका थियौं । महानगर कार्यपालिकाको बैठकले यो भरतपुरको बीच भागबाट रेल जाँदा यहाँका जनताको सम्पत्ति असुरक्षित हुने हुँदा त्यहाँका नागरिकहरु धेरै पीडित र आतङ्कित अवस्थामा रहनु भएको छ,’– उनले भनिन् ।

मेयर दाहालले रेल लाइनको सन्दर्भमा महानगर कार्यपालिकाको बैठकले निर्णय गरेर संघीय सरकारलाई पठाएको विकल्पलाई नै कार्यान्वयन गरिदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरिन् । मेयर दाहालले भरतपुर र चितवनका अन्य भौतिक पूर्वाधार विकासमा पनि बजेट विनियोजनका लागि प्रधानमन्त्री ओलीको ध्यानाकषैण गराएकी छन् ।