कमाण्ड तथा स्टाफ तालिमको शिवपुरीमा भव्य शुभारम्भ


काठमाडौँ, ५ वैशाख । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आज सि.सं. ३२ औँ कमाण्ड तथा स्टाफ तालिमको औपचारिक शुभारम्भ गरिएको छ। समारोहको उद्घाटन नेपाली सेनाका बलाधिकृत रथी श्री निर्मल कुमार थापाले गर्नुभयो।

रथी थापाले तालिमको महत्वमा प्रकाश पार्दै यस कार्यक्रमले सहभागी अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा चुनौतीहरूको गहन विश्लेषण गर्दै फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना निर्माण र कार्यान्वयनमा दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई आपसी अनुभव आदान–प्रदान गर्दै मित्रभावसाथ तालिमको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।

यो तालिममा नेपाली सेनाबाट ४ महिला सहित ८१ जना अधिकृतहरू सहभागी छन्। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागबाट १/१ जना गरी ३ जना सहभागी छन्। यस्तै, मित्र राष्ट्रहरू चीन (२ जना), भारत, बंगलादेश, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानबाट १/१ जना गरी ८ जना विदेशी अधिकृतहरू सहभागी छन्। कुल सहभागीको संख्या ९२ रहेको छ।

वि.सं. २०४९ सालमा स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बलका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ तथा विभिन्न मित्र राष्ट्रका १२४ जना गरी कुल १४१५ जना शिक्षार्थी अधिकृतहरूलाई तालिम प्रदान गरिसकेको छ।

तालिम शुभारम्भ समारोहमा शिक्षाध्यक्ष उपरथी श्री चोक बहादुर ढकालले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्ष तथा रथीवृन्द, प्राध्यापकहरू, मित्र राष्ट्रका सैनिक सहचारीहरू तथा सहभागी अधिकृतका परिवारजनहरूको उपस्थिति रहेको थियो।

तालिम वर्ष भरि सञ्चालन हुने छ, जसअन्तर्गत रणनीतिक, नीतिगत तथा व्यावहारिक पक्षहरूमा गहन अध्ययन तथा अभ्यास गराइनेछ।