रवि लामिछानेले चितवनमा एक रुपैयाँ पनि बजेट ल्याउन नसकेको एमाले नेताको दाबी


काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको आफ्नो क्षेत्रमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान नसकेको आरोप लगाएका छन् ।

उनले भने,‘अब रविजीकै कुरा गरौं, उहाँ संसद्मा गएको २ वर्ष त भयो नि, ल ठीक छ एकाध महिना उहाँको पद भएको छ, तर उहाँले यो क्षेत्रमा कुनै वडामा यो बाटो, यो विकासको सवालमा एक रुपैयाँ पनि उहाँको कारण आयो भनेर कसैले भन्छ ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले चितवनको विकासमा आफूहरुले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई पनि पूरा साथ दिएको बताए । उनले आफूहरु भरतपुरको विकासमा मेयर रेनुसँग मिलेर काम गर्न तयार रहेको बताए ।